Monday, September 25, 2017

हिन्दूकरणको पछिल्लो उदाहरण मुक्तिनाथ - राजकुमार रार्इ


‘होमा’लाई नै जस्ताको तस्तै लगेर उनीहरुले होम भनेका हुन्


भारतको आसाममा एउटा देवी छ, जसलाई अहिले कामाक्ष देवी भनिन्छ । तर त्यो कामाक्ष देवी होइन । त्यसको वास्तविक नाम ‘कामाख्या’ हो । कामाख्या भनेको किरात भाषा हो । कामाख्यालाई हिन्दूकरण गरी कामाक्ष देवी बनाइएको छ ।
त्यसकारण नेपालमा मात्रै हैन भारतको ब्रम्हपुत्र भ्यालीसम्मका ठाउँहरुमा हिन्दूकरण गरिएको देखिन्छ । नेपालमा पछिल्लो कालमा हिन्दूकरण गर्दै गरेको मन्दिर मुक्तिनाथ हो । मुक्तिनाथलाई त्यहाँको भाषामा ‘न्हया छिमि ग्यार्चा’ भनिन्छ ।
न्हया छिमि ग्याचा त्यहाँको भोटे भाषा हो । अहिले उनीहरुले आफूलाई गुरुङ भन्छन् । तर उनीहरु खासमा ‘लोबा’ हुन् ।
लोबा जाति चाहिँ मुस्ताङमा सीमाना वारी पनि छ, सीमाना पारी पनि छ, तिब्बततिर ।
उनीहरु लोबा हुन् र नागरिकता नपाउने भएपछि उनीहरुले गुरुङ लेखेका छन् । उनीहरु त्यहीँका निवासी हुन् । उनीहरु न्हया छिमि ग्यार्चा भन्छन् र त्यो बुद्धिस्ट मन्दिर हो ।
न्हया छिमि ग्यार्चाको मूल मन्दिर अलिक माथि छ । जुन १०८ धारा बनाइएको ठाउँमा छ, त्यहाँको पुजारीहरु भनेको बुद्धिस्ट आनीहरु नै हुन् ।
न्हया छिमि ग्यार्चाकोे मन्दिर भएको ठाउँमा दुईजना आनीहरुले भक्तहरु जाँदा पुजा गर्छन् । त्यहाँ अरु कोही पुजारी छैनन् ।
तर त्यसलाई हिन्दूकरण गरिएको छ । त्यहाँ अहिले बाहिरपट्टि एउटा टहरामा एकजना मठाधीस धुनी बालेर बस्छन् । यसरी नेपालमा हिन्दूकरण गर्दै गरेको सबभन्दा पछिल्लो उदाहरण मुक्तिनाथ देखिन्छ ।
हामी किरातहरु पोल्नुलाई ‘होमा’ भन्छौ । हामी जे पोल्छौ चुलामा त्यो ‘होमा’लाई नै जस्ताको तस्तै लगेर उनीहरुले होम भनेका हुन् ।
अब नामकै कुरा गर्ने हो भने मुक्तिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ भन्छन् । तर यी नाथ होइनन् । त्यो त बौद्ध हो, त्यो त स्वयम्भू हो । तर लेख्दाखेरि बौद्धनाथ, स्वयम्भूनाथ भनेर लेख्छन् ।
वास्तवमा बुद्ध परम्परासँग नाथको कुनै साइनो नै छैन । उनीहरुले नाथ भन्ने शब्द कही प्रयोग गरेका छैनन् । त्यो त हिन्दू परम्परामा मालिकको पर्यायको रुपमा प्रयोग गरिएको शब्द हो ।
अहिलेका धार्मिक मठाधीसहरुलाई नाथ महाराज भन्ने जो प्रचलन छ, त्यहीँ चाहिँ यहाँ ल्याएर जोडिएको छ । त्यसकारण यो खोजको विषय हो ।
नेपालको नाम किरात देश थियो । नेपाल भन्ने देशको नामाकरण किरात कालमै भएको भनिन्छ ।
यो कुरा टीकाराम शर्माले आफ्नाे एउटा अनुसन्धान पुस्तकमा उल्लेख गरेका छन् । उनले ‘किरातीहरुले नै यो देशको नाम नेपाल भनेर नामाकरण गरेको’ भनेका छन् ।
पछि मात्रै सारा कुराहरु, संस्कृति, चाड पर्वहरु सबैलाई हिन्दूकरण गरियो । त्यो पनि राज्यको तर्फबाटै गरियो ।
निरंकुश राणा तन्त्र र शाह कालमा यस विषयमा व्याख्या, विश्लेषण, छलफल, अन्तरक्रिया, तर्कवितर्क गर्ने गुञ्जायस नै थिएन । त्यो अवसर पनि थिएन । अनि सबै चिजलाई एकोहोरो तरिकाले हिन्दूकरण गरियो ।
जस्तै खोटाङको हलेसीकै कुरा गरौ । त्यहाँ अहिले बुद्धिस्टहरु पनि छन् । हिन्दूहरुले हलेसीलाई हाम्रो भन्छन् । वास्तवमा त्यो किरातहरुको पनि हो । महादेव आफै किरातेश्वर हुन् । किरातीहरुको आदि पुर्खा महादेव नै हुन् । खोजी गर्दै जाँदा त्यही देखिन्छ ।
किरातीहरुले महादेवलाई पारुहाङ भन्छन् । महादेव शब्द त हिन्दूहरुले मात्रै प्रयोग गर्छन् । अर्कोतिर ‘देव–देवा’ भनेको खस भाषा मात्रै पनि होइन । ‘देवा’ शब्द मूलतः राई लिम्बूसँग सम्बन्धित छ ।
‘रिचुयल’ कामलाई देवा गर्ने भनिन्छ । राई लिम्बूको देवा लाग्छ भन्ने गरिन्छ नि, त्यसकारण देवा त्यहाँ पनि आउँछ ।
जस्तै गुरु भन्ने शब्द छ नि । टिब्बेटेन भाषामा पनि गुरु भनिन्छ । उनीहरु महागुरु भन्छन् । त्यसकारण नेपालीमा भएको कैयौ शब्दहरु किरात भाषाका पनि छन् ।
मानौ पापा भन्ने शब्द छ नि, के त्यो हिन्दी भाषा हो र ? त्यो त किरात भाषा हो नि । संस्कृतमा पनि छैन, पापा शब्द । संस्कृतमा त बाउलाई पितर भनिन्छ । पितर मातरबाटै पिता माता भएको हो ।
किरात भाषाको पापा अहिले हिन्दी भाषा नै भइसक्यो । पापा भनेको बाउ भनेर अहिले त उनीहरुले त्यो त्यहीँको भाषाजस्तो बनाइसकेका छन् ।
आमा पनि खस नेपाली भाषा होइन । तर अहिले आमा शब्द यस्तो भइसक्यो कि त्यो झर्रो नेपाली भाषाकै शब्द जस्तो भइसक्यो ।
राई वान्तवा भाषामा काकालाई आबाँगा भनिन्छ । काकीलाई आछुना भनिन्छ । बाजेलाई आडीवा भनिन्छ । बजुलाई आडीमा भनिन्छ । चाम्लिङ राईमा पनि यस्तै हुन्छ । यस्ता नाता पर्ने शब्द आ’बाट सुरु हुन्छ ।
तामाङमा पनि त्यहीँ हुन्छ । आपा, आमा । आगु भन्छन् काकालाई, आस्याङ भन्छन् मामा र ससुरालाई । आङी भन्छन् माइजुलाई । छ्यामालाई आसु भन्छन् ।
यता लिम्बूमा पनि त्यहीँ हो । आपा आमा, अनि आतुबा आतुमा भन्छन् बाजेबजुलाई । काकालाई आफाङा भन्छन्, काकीलाई आछिमा भन्छन् ।
त्यसकारण आमा त ठेट किराती शब्द हो । तर खस नेपालीमा आमा भन्ने शब्द पुरै नेपालीजस्तो भइसकेको छ ।
त्यसकारण अब हामीले आफ्नाे आध्यात्मिक सांस्कृतिक सम्पदाहरुको खोज अनुसन्धान र दाबी गरेर जानुपर्छ । आफ्नाे मौलिकता छुट्याउनुपर्छ ।
हिन्दू दर्शन भनेर उनीहरुले लेखबद्ध गरे, हाम्रो कमजोरी भनेको लेखवद्ध नगर्नु हो । हाम्रो किरातहरुको मुन्दुम अहिले पनि मौखिक परम्परामै छ ।
हिन्दू दर्शन उनीहरुले लेखबद्ध गरे, हाम्रो कमजोरी भनेको लेखवद्ध नगर्नु हो । हाम्रो किरातहरुको मुन्दुम अहिले पनि मौखिक परम्परामै छ ।
जस्तो हिन्दूहरुले किरातबाट अग्नि प्राप्त गरेको कुरा उल्लेख छ । हामीले हाम्रो कैयौ धार्मिक अनुष्ठान गर्दा तिन चुलाको पुजा गछौं । हामीले तिन चुलामाथि अक्षता, अदुवा, मासु, भात, मास, फूल (नावाङ्गी बुङ) जाँड राख्छ । अनि तल आगोमा पनि चढाउछौ ।
त्यसैलाई उनीहरुले अनुकरण गरे । र उनीहरुले किरातबाट अग्नि प्राप्त गरेको कुरा उल्लेख गरे । तर उनीहरुले हाम्रो तिन चुलाको पुजा जस्तै बाहिर आगनमा यज्ञ गर्न थाले । अर्को कुरा, उनीहरुले त्यो यज्ञ गर्दा ‘होम गर्ने’ भन्छन् ।
तर ‘होम’ भन्ने शब्दको कुनै अर्थ नै छैन ।  त्यहाँ सबै कुरा पोल्नु वा सबै कुरा डढाउनुलाई होम गर्नु भन्छन् । घिउ चामल मुछेर अरु के के सबै कुरा पोल्नुलाई होम गर्नु भन्छन् ।
हामी किरातहरु पोल्नुलाई ‘होमा’ भन्छौ । हामी जे पोल्छौ चुलामा त्यो ‘होमा’लाई नै जस्ताको तस्तै लगेर उनीहरुले होम भनेका हुन् ।
त्यसकारण त्यो त उनीहरुले हामीबाट सिके । यी कुराहरु त छुट्याउनुपर्यो नि, सबै कुरा छोडिदिएर हुन्छ ?
संस्कृतमा पनि कैयौ किराती शब्दहरु छन् । उनीहरुले संकलन गर्दा किराती शब्दहरु पनि संकलन गरेका थिए ।
जस्तो संस्कृत व्याकरण नै किरात भाषाबाट प्रभावित छ । हाम्रो भाषामा तिन बचन हुन्छ । नेपाली, अंग्रेजी लगायत अरु कतिपय भाषामा दुई वटा मात्रै हुन्छ ।
तर किराती भाषामा तिन बचन हुन्छ । यसको मतलव संस्कृत भाषा जो हो नि त्यो किराती व्याकरण अनुसार उनीहरुले लेखेका हुन् ।
सिन्धुघाटीबाट आर्य हिन्दुहरु भारततिर प्रवेश गर्दा त्यतिखेर यहाँ किरातहरु थिए । अहिले को कहा पुगे होला, त्यो खोजी गर्न जरुरी छ । तर मौलिक किराती त हामी अहिले पनि छदैछौ । अहिले पनि भारतको त्रिपुरातिर किरातहरु छन् । दिल्लीको छेउतिर एउटा किरातकुप अहिले पनि छ ।
मानव समाज त एउटा लामो परम्पराबाट चलेर आएको छ । त्यतातिर हामी गएकै छैनौ ।
तिहार त बली राजासँग जोडिएर आउछ । बलि राजा पाल्पाका थिए । पाल्पादेखि बुटवलतिर बगेर झर्ने तिनाउ नदीलाई बलिहाङ नदी भनिन्थ्यो पहिला ।
अहिले लिम्बू राईहरुले बलिहाङ भन्छन् । तर पहिला त सबै एउटै थिए । मगर पनि किरात नै थिए र उनीहरु किरात नै हुन् ।
नेपालमा जनजातिहरुमा सबभन्दा पहिला हिन्दूकृत हुने मगरहरु नै हुन् । तर कहाँका मगरहरु मात्रै हिन्दूकृत भए भन्दाखेरि पाल्पाको रिडी खोलादेखि पूर्वतिरको हिन्दुकृत भए । रिडीपश्चिममा चाहिँ अहिले पनि उनीहरुको आफ्नाे मौलिक किरात संस्कृति, परम्परा छँदैछ । उता रुकुम रोल्पा जुन १८ मगरात छ, त्यहाँका मगरहरु अहिले पनि प्रकृति पुजक नै छन् । त्यहाँ अहिले पनि मान्छे गाड्ने चलन छ ।
पाल्पाली सेनहरुलाई सबभन्दा पहिला हिन्दूकृत भएका किरातहरु भनिन्छ । सेनहरु अहिले कोही क्षेत्री, कोही मगर, कोही ठकुरी भएका छन् ।
ठकुरीको विकास मगरबाटै भएको हो ।
किनभने ठकुरी र मगरहरु अन्तरसम्बन्धित जाति हुन् । शारीरिक बनावट मगर जस्तै देखिन्छ । तर संस्कृतिको हिसाबले उनीहरु हिन्दू धर्मका अनुयायी छन् ।  पहिला निरंकुश शासन कालमा मैले भनेका कुराहरुको खोज अनुसन्धान गर्न सम्भव थिएन ।
तर अहिलेको लोकतान्त्रिक कालमा सबै कुराको खोज अनुसन्धान गर्ने र मौलिक कुराहरुको पुनस्थापना गर्ने एउटा अवस्था सिर्जना भएको छ । किरातहरुले पनि अब आफ्नाे मौलिकताको खोजी गर्ने र पुनस्थापित गर्ने अभियान सुरु गर्नुपर्छ ।
(लेखक समाजशास्त्र मानवशास्त्रमा स्नातकाेत्तर गरेका व्यक्ति हुुन् । याे लेख उनीसँग गरिएकाे कुराकानीकाे अाधारमा तयार पारिएकाे हाे ।)

http://www.sarbajanik.com बाट साभार 

No comments:

Post a Comment