राजा प्रताप मल्ल अत्यन्तै कामुक थिए। वंशावलीहरूमा उनका तीन सय रानी भएका उल्लेख छ।
मध्यकालमा मल्लहरूको केन्द्रीय राजधानी भक्तपुर थियो। कान्तिपुर र ललितपुरको प्रशासन पनि भक्तपुरबाटै चल्ने गर्थ्यो। राजा यक्ष मल्लले माहिला छोरा रत्न मल्ललाई प्रतिनिधि बनाई आफ्नो राज्यका तर्फबाट कान्तिपुर क्षेत्रको प्रमुख प्रशासकका रूपमा राख्ने गरेका थिए। यक्ष मल्लको मृत्युपछि रत्नका दाजु राय मल्ल भक्तपुरका राजा भए। उनको देहान्तपछि उनका छोरा भुवन मल्ल त्यहाँका राजाका रूपमा स्थापित भए। तर कान्तिपुर क्षेत्रका प्रशासक भएर बसेका रत्न मल्लले यिनको आधिपत्यलाई स्वीकार गर्न चाहेनन् (बाबुराम आचार्य, ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३ः७४–७५)। उनले षडयन्त्रपूर्वक कान्तिपुरलाई स्वतन्त्र गराई आफूलाई त्यहाँको राजाको रूपमा स्थापित गराए।
विसं १५३८ मा यक्ष मल्लको निधन भएपछि उनको उत्तराधिकारीका रूपमा राय मल्ल राजा भए। उनका भाइ रत्न मल्ल निकै चतुर र महत्वाकांक्षी थिए। यता ललितपुर र कान्तिपुरमा भने त्यसबेला १२ महापात्र (सामन्त)हरू मिलेर शासन गर्थे। यिनीहरू मल्लहरूकै अधीनमा भए तापनि पुस्तैनी अधिकार पाएका हुँदा उनीहरू कमजोर भने थिएनन्। विसं १५४१ मा कान्तिपुरतर्फ आकृष्ट भएका रत्न मल्लले त्यहाँका १२ महापात्रमध्ये एकजना प्रमुख महापात्रलाई आफ्नो पक्षमा मिलाएर ११ जना महापात्रहरूलाई भोजमा निम्तो गरी विष खुवाएर मारे। पछि कान्तिपुरको अधिकार आफ्नो हातमा आएपछि आफूले हात लिएका महापात्रलाई पनि मारिदिए र आफ्नो एकलौटी शासन शुरू भएपछि हिटीचोकमा रहेर कान्तिपुरको शासन शुरू गरे (डा. पेशल दाहाल, ‘नेपालको इतिहास’–२०५७ः१४७)।
यसरी विसं १५४१ मा रत्न मल्लले कान्तिपुरलाई एउटा अलग्गै राज्यका रूपमा स्थापित गरेपछि कान्तिपुर एउटा स्वतन्त्र राज्यका रूपमा अस्तित्वमा आयो। रत्न मल्लपछि कान्तिपुरमा उनका छोरा सूर्य मल्ल हुँदै क्रमशः महेन्द्र मल्ल र शिवसिंह मल्ल राजा भए। शिवसिंह जीवितै हुँदा उनका छोरा हरिहरसिंहको मृत्यु भयो। हरिहरिसिंहका दुई छोरामध्ये लक्ष्मीनरसिंह कान्तिपुरको राजगद्दीको हकवाला थिए। तर शिवसिंहकै पालामा लक्ष्मीनरसिंहका भाइ सिद्धिनरसिंह मल्ल ललितपुरका राजा हुन पुगे। यसबाट असन्तुष्ट बनेका लक्ष्मीनरसिंह बाजे राजाको विरोध गर्दै दरबार छाडी हिँडेपछि शिवसिंह मल्लले उनलाई बोलाएर कान्तिपुरको राजगद्दीमा राखिदिए। यसरी मल्ल वंशको राज्य भक्तपुरमा मात्र सीमित नरही कान्तिपुर र ललितपुरमा पनि छुट्टै राज्यमा पनि देखा पर्याे। (दाहाल, उहीः१५४)। लक्ष्मीनरसिंहपछि उनका १८ वर्षका छोरा प्रताप मल्ल कान्तिपुरको राजा हुनपुगे।
बाबुलाई कैद गरी आफू राजा
प्रताप मल्ल सानैदेखि निक्कै महत्वाकांक्षी थिए। आफ्ना बाबु लक्ष्मीनरसिंह राजा हुँदै १३ वर्षको युवराज हुँदा केही भारदारहरूले उचालेको भरमा विसं १६९३ मा उनले आफ्ना काकाको राज्य ललितपुरमा आक्रमण गरेका थिए। त्यसबेला त्यहाँ राजा सिद्धिनरसिंह मल्ल भर्खरै कृष्ण मन्दिर बनाइसकेर होम गरिरहेका थिए। कान्तिपुरेहरू ललितपुरको केही किल्ला कब्जा गरेर अगाडि बढिरहेका बेला ललितपुरका प्रजाहरू उठेर आएका हुँदा कान्तिपुरेहरूको हार हुनपुगेको थियो (दाहाल, उहीः १५४)।
राजा लक्ष्मीनरसिंह मल्ल शान्त स्वभावका थिए। उनका विशेष सल्लाहकारहरूमा मायासिंह, नरदेव, भीम मल्ल आदि थिए। तीमध्ये काजी भीम मल्ल राजाका ठूला विश्वासपात्र थिए। तर पछि काजी भीम मल्ल विश्वासघाती बनेर निस्के। युवराज प्रताप मल्लले विसं १६९८ मा उनै भीम मल्लको सहयोग लिएर आफ्ना बाबु राजा लक्ष्मीनरसिंह मल्ललाई कैद गरी राजगद्दी आफ्नो हातमा लिए। यसरी राज्य गुमाएर १६ वर्षसम्म कैदी जीवन बिताएर विसं १७१४ मा लक्ष्मीनरसिंह मल्लले संसार छाडे (दाहाल, उहीः१५५)।
बाउलाई थुनेर राजा बनेका प्रताप मल्लले ३३ वर्ष शासन चलाए। मल्ल राजाहरूमध्ये उनको ठूलो चर्चा हुनेगर्छ। आफूलाई कवि राजाका रूपमा प्रस्तुत गरेर ‘कवीन्द्र’ कहलाए उनी। रानीपोखरीलगायत विभिन्न कीर्तिहरू राखे। तर अरूको कुरा सुनेर राष्ट्रहितमा समर्पित काजी भीम मल्लको अनाहकमा ज्यान लिए। प्रताप मल्लको जीवनको अर्को साह्रै नराम्रो पाटो चाहिँ व्यभिचार हो। उनले एक लाख स्त्रीसँग सम्भोग गर्ने लक्ष्य राखेका थिए। यस्तो लक्ष्य पुरा गर्ने क्रममा एक नाबालिकाको मृत्यु हुन पुगेको बताइन्छ। प्रताप मल्ल ५१ वर्षको उमेरमा दिवंगत भए।
कवि प्रताप मल्ल
प्रताप मल्लले आफ्नो प्रशस्तिमै कवीन्द्र (ठूला कवि) उल्लेख गरे/गराएको पाइन्छ। अभिलेखहरूमा ‘शस्त्र शास्त्र संगीतादिसक्ल विद्या पराग महाराजाधिराज विदग्ध चूडामणि श्री श्री राज राजेन्द्र कवीन्द्र जयप्रताप मल्ल’ उल्लेख छ। यसको अर्थ ‘म शस्त्र शास्त्र संगीत आदि विद्यामा पारङ्गत छु, असल विद्वान छु, कवीन्द्र (ठूला कवि) छु’ भन्ने लाग्छ। त्यसो हुनाले उनको आदर्श साहित्य–संगीत आदिप्रति झुकेको थियो भन्ने स्पष्ट झल्किन्छ (रुक्मिणी (वन्त) प्रधान, ‘कन्ट्रीब्यूसन टू नेपलीज् स्टडिज्’ वर्ष ९ अङ्क १/२–पुस २०३८–असार २०३९ः६९)।
राजा प्रताप मल्लको प्रशस्तिमा ‘कवीन्द्र’ उपनामको प्रयोग विधिवत् छ। उनको हर अभिलेखमा उनको नामसाथ कवीन्द्र जोडिएकै हुन्छ। राजा हुनु अघिदेखि नै कविताप्रति उनको चाख देखिन्छ। महेन्द्र मल्लले चलाएको मुद्रालाई ‘महेन्द्रमल्ली’ भनिएजस्तै प्रताप मल्लले चलाएको मुद्रालाई ‘कवीन्द्रमल्ली’ र उनको बनाएको एक ‘पुर’लाई ‘कवीन्द्रपुर’ भनियो (प्रधान, उहीः७०)। उनले आफ्ना मन परेका रानी महारानीहरूको असामयिक मृत्युले आफ्नो मनमा चोट पर्दा विभिन्न देवदेवीहरूको स्तोत्र गीतको रचनातिर उनको कवि हृदय ढल्केको देखिन्छ। जस्तै:
म्हाच श्री रूपमतिदेवी दत थप रूपमति देवी श्री श्री प्रताप मल्लया पत्नी
कर्णाट देशया श्री राजमति प्रेयसी थ्वपनि नेत्वमस परलोक जुवाव श्री श्री प्रताप मल्ल न थ्व देवल दयक विज्याङाव रुक्मिणी सत्यभामाया स्वरूपन नेहमस सारिक दयकाव जन्मजन्मान्तरस मुमालर्क कामनान (प्रधान, उहीः७२)।
हिन्दी मिसिएको एक नेवारी गीत पनि प्रताप मल्लले रचना गरेका थिए। काठमाडौँ निवासी वैद्य श्रीगोपालको संग्रहमा रहेको उक्त गीत यस्तो छः
राज पहडिया।। जति वाधा।।
सप्त घनि नजिनि हेरो सुन्दर उधिया चाहे
पासप दतसि (?) निर वहेला मारिनिच्छया निद्रायजा।
हाथे तोभे गोरति सुन्दर वखान अपवे चनते
अंगुच्छा पहिरि सुन्दर।
ध्यान माता रोवरस।।
राग पहडिया। गण्डलताले
प्रताप मल्लन् सेया थ्वया अनुमान
च्छवि नूत भलेने अमृत मोङ्न्।। (जगदीशचन्द्र रेग्मी, ‘प्राचीन नेपाल’ सङ्ख्या १३–कात्तिक २०२७ः३३)।
प्रताप मल्ल मात्र होइन, उनका छोरा र नातिहरू पनि कवि थिए। उनीहरूले पनि आफ्नो प्रशस्तिमा आफूहरूलाई कविका रूपमा प्रस्तुत गरे। तीमध्ये उनका एक छोरा मान्धाता सिंहले ‘कविकेसरी’ र अर्का छोरा पार्थिवेन्द्र मल्लले ‘कविराजराज’ पदवी लिएका छन्। यस्तै उनका नाति भुपालेन्द्र मल्लले आफ्नो प्रशस्तिमा ‘कवीन्द्र चूडामणि सम्राट’ उल्लेख गरेका छन् (प्रधान, उहीः७०–७१)।
‘सतीको सराप’
नेपाललाई ‘सतिले सरापेको मुलुक’ भन्ने चलन प्रताप मल्लकै समयदेखि चलिआएको हो। राम्रो काम गर्नेको भलाई नहुने भन्ने सन्देश सो लोकोक्तिले दिन्छ। प्रताप मल्लकालीन प्रभावशाली भारदार काजी भीम मल्लले तिब्बतसँग युद्ध गरी उनीहरूलाई पराजित गरी कान्तिपुरको ठूलो हित हुने गरी सन्धि समेत गरेका थिए। तर, उनका कतिपय प्रतिस्पर्धी भारदारहरूलाई भीम मल्लको दरबारमा बढ्दै गएको रवाफ र शक्ति मन परेको थिएन र राजासमक्ष उनीहरूले उनका विरुद्ध नचाहिँदा कुरा लगाए। त्यसपछि उनलाई तिब्बतबाट तुरुन्तै फिर्ता बोलाइयो र राजा प्रताप मल्लको आदेशमा काटियो। सती जाने बेलामा उनकी पत्नीले ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै राम्रो नहोस्’ भनी कठोर सराप दिएकी थिइन् (आचार्य, उहीः७७)। यसैलाई ‘सतीको सराप’ भनिन्छ।
राजाको आज्ञा लिएर काजी भीम मल्ल तिब्बतका विभिन्न भागमा कान्तिपुरको अधिकार स्थापना गराउन त्यसतर्फ गएका थिए। तत्कालीन माझ किरातको ओखलढुंगा हुँदै उनी तिब्बततर्फ गएका थिए। उनले ठूलो ढुंगामा ओखल खोपी धान कुटेर आफ्ना दललाई सामल तुल्याएका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरूपण’–२०५५ः२९०)। त्यसपछि त्यस ठाउँको नाम नै ओखलढुंगा रहनपुग्यो।
काजी भीम मल्लले तिब्बतको त्यस बेलाको राजनीतिक अस्तव्यस्तताको मौका छोपी सुझबुझ र पराक्रमका साथ कुती, केरुङ तथा खासा लगायतका केही भू–भागमा कान्तिपुरको आधिपत्य स्थापित गराएका थिए। त्यसपछि तिब्बत र कान्तिपुरबीच शान्ति सम्झौता भएको थियो। त्यस सम्झौताअनुसार तिब्बत सरकारले नेपाली नागरिकलाई तिब्बतमा आफ्ना व्यापार कोठी स्थापना गर्न र व्यापार सञ्चालन गर्न दिनुपर्ने भयो। साथै तिब्बत सरकारले आफ्नो राज्यको बाटो भएर मात्र भारतसँग व्यापारसम्बन्ध स्थापित गर्नुपर्ने व्यवस्था भयो।
नेपालको साख बढ्ने गरी भीम मल्लले गराएको त्यस्तो सम्झौताका कारण कान्तिपुर दरबारमा उनेको धाक रवाफ बढेको तियो तर मल्लको बढ्दो प्रभाव दरबारका नरदेव तथा मयासिंह नामका भारदारलाई मन परेन। उनीहरूले महादेव ओझा नामका एक जना कुख्यात व्यक्तिलाई प्रयोग गरी प्रताप मल्ललाई काजी भीम मल्लविरुद्ध कुरा लगाए। उनीहरूले तिब्बतमा जितिएका भूभागहरू कान्तिपुरबाट अलग्याएर काजी भीम मल्ल आफैँ स्वतन्त्र प्रशासक हुने धूनमा लागिरहेका छन् भन्ने झुटो कुराले राजाको कान भरे। त्यसपछि राजा प्रताप मल्लले सत्यतथ्य नबुझी उनलाई कान्तिपुर बोलाउन लगाएर राजदरबारको मूलढोकामै विसं १७०७ मा काट्न लगाए (आचार्य, उहीः७६)
पछि काजी भीम मल्ल निर्दोष देखिँदा प्रताप मल्लले निक्कै ठूलो पछुतो मानेका थिए। वास्तवमा काजी भीम मल्लले देशको भलाइका लागि ठूलो काम गरेका थिए। तर राम्रो काम गर्दागर्दै मल्लले पुरस्कारको साटो ज्यान गुमाउन परेको थियो। तिब्बतसँगको सन्धिबाट कान्तिपुरले त्यहाँ विशेष सुविधा पाएको थियो। कालान्तरमा ललितपुर र भक्तपुरले समेत सोही सुविधा प्राप्त गरी भोट व्यापारमा सरिक हुने अवसर पाए। यस सन्धिबाट उपत्यकाका मल्ल राजाहरूले प्रशस्त फाइदा लिए। तिब्बतसँगको सन्धिका कारण यहाँको अर्थतन्त्र दह्रिलो बन्नपुग्यो।
नेपाली व्यापारीहरू ल्हासा र भोटका अन्य क्षेत्रमा कुशल व्यापारीका रूपमा स्थापित भई त्यहीँ बस्न थाले। यसले त्यस देशको आन्तरिक तथा बाह्य व्यापारमा नेपालको एकाधिपत्य कायम हुनसक्यो। तर दरबारिया षडयन्त्रमा परी तिब्बतबाट कान्तिपुर फर्किएकै दिन होनहार देशभक्त काजी भीम मल्ल काटिन पुगे। उनकै श्रीमतीले सती जाँदा सराप दिएका कारण नेपाल सतीको सराप लागेको मुलुक कहलिन गयो (प्रा.डा. तीर्थप्रसाद मिश्र ‘ईहिमालयटाइम्स’–१५ साउन २०७९)।
एक लाख स्त्रीभोगको लक्ष्य
राजा प्रताप मल्ल अत्यन्तै कामुक थिए। उनले एक लाख स्त्रीसँग सम्भोग गर्ने लक्ष्य राखेका थिए। वंशावलीहरूमा उनका तीन सय रानी भएका उल्लेख छ। तर ऐतिहासिक सामग्रीहरूमा रूपमति, अनन्तप्रिया, राजमती, प्रभावती आदि रानी मात्र भएको देखिन्छ। उनको मृत्यु हुँदा नौ जना रानी उनीसँग सती गएका थिए। केही रानी भने सती गएनन् (दाहाल, उहीः १६१)।
उनको मृत्यु विसं १७३१ वैशाख ९ गते भयो। उनी त्यतिखेर ५१ वर्षका थिए। वंशावलीमा ’अलि चमत्कारिक’ रूपमा उल्लेख भएअनुसार रातको समय उनी हरिसिद्धिको नाच हेरिरहेका थिए। देवी पनि अति सुन्दर भई मानिसको रूप लिई नाच हेरिरहेकी थिइन्। राजा प्रताप मल्लले त्यस्ती सुन्दरीलाई देखेर मन थाम्न सकेनन् र हातपात गर्न पुगे। तब देवी रिसाएर ‘तिमी अति व्यभिचारी रहेछौ, तिम्रो यति मात्र हुनेछ’ भनी अलप भइन्। केही बेरमै राजा प्रताप मल्लको मृत्यु भयो। उनले ३३ वर्ष शासन चलाए (दाहाल, उहीः१६२)।
उनको कामवासनाका बारेमा योभन्दा पनि डरलाग्दो तथ्य भाषा वंशावलीमा उल्लेख छ। देवीप्रसाद लम्सालद्वारा सम्पादित ‘भाषा वंशावली’ (भाग २–२०२३ः८९) मा उनले ‘आफ्नो यौवनावस्था पूरणार्थ स्त्रीभोग लक्षयोनी क्रिया पुर्याउने इच्छा राखेको’ उल्लेख छ। यो भनेका एक लाख स्त्रीसँग सम्भोग गर्ने इच्छा/लक्ष्य हो।
त्यसो हुँदा उनले मनोमानी रूपमा तीन हजारजति स्त्रीसँग सम्भोग गरे। एक बालस्त्री (नाबालिका) लाई करणी गर्दा ती नाबालिकाको मृत्यु भयो। यसबाट ’ठूलो पाप हुन पुग्यो’ भनी उनी प्रायश्चित गर्न लागे। त्यसपछि उनी पशुपतिनाथ पुगी त्यहाँ तीन महिना बसी कोटिलिङ्ग स्थापना गरी देवालयसमेत बनाए। पापमोचनका लागि उनले कोट्याहुति यज्ञ गरी यसअघि बिग्रिएको मन्दिरको गजुर बनाए। यस्तै पशुपतिनाथका दक्षिणढोकामा शिलाको चार वटा तुलास्तम्भ खडा गरी आफ्ना परिवारको मूर्ति बनाई गाउँको उत्तरतिरको धेरै गौचर संकल्प गरे। यसलाई भूदान–खेत नामकरण गराए। पापमोचनका लागि यतिले मात्र नपुग्ने ठानी पशुपतिमा लिंगाकार देवालय बनाउन लगाए। पशुपतिनाथको गजुरदेखि बाँधेर मोहनचोकको देवतासम्म एउटै पातकाले बाँधे। तीन महिनासम्म ’धर्मकीर्ति’ गरेर उनले आफूलाई लागेको ’पाप पखाले’को भाषा वंशावलीमा उल्लेख छ।
कान्तिपुर राज्यमा जनसङ्ख्या थोरै भएको समय थियो त्यो। विसं १८४९ को चीन र तिब्बतसँग नेपालको युद्ध हुँदा बहादुर शाहले अङ्ग्रेजसँग गुहार मागेका थिए। एउटा सामान्य वाणिज्य सन्धि पनि भएको थियो। त्यसैबेला अङ्ग्रेजका दूत बनेर कर्कप्याट्रिक आएका थिए। त्यसबीचमा नेपाल–चीनबीच सम्झौता भई युद्ध पनि सकिइसकेकोले एक महिना पनि बस्न नपाई कर्कप्याट्रिक फिर्ता भएका थिए (नेपाल, ज्ञानमणि ‘नेपालको महाभारत’–२०५२ः५१)। कर्कप्याट्रिकले त्यसबेला नेपालसम्बन्धी एक पुस्तक प्रकाशित गरेका छन्। आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ् द किङडम् अफ् नेपाउल’ (सन् १७९३ः१६२) मा उनले त्यसबेला काठमाडौँमा २४ हजार घरधुरी रहेको उल्लेख गरेका छन्।
प्रताप मल्लको राज्यकाल विसं १६९८–१७३१ हो। प्रताप मल्लको मृत्यु भएको १२० वर्षपछि लेखिएको उक्त पुस्तकले काठमाडौँमा २४ हजार मात्रै घरधुरी थियो भन्नुले प्रताप मल्लको समयमा काठमाडौँको जनसङ्ख्या न्यून थियो भन्ने अनुमान गर्न सजिलै सकिन्छ। त्यसमा पनि आधा पुरुष र आधा जति महिलाको सङ्ख्या हुँदा पनि एक लाख स्त्रीसँग सम्भोग गर्ने लक्ष्य राख्नु उनको चरम व्यभिचारको रूप थियो। आफ्नो यौन दुर्व्यसनको लक्ष्य पूरा गर्न उनले कान्तिपुर वरपरका अन्य राज्यका स्त्रीहरू आफ्नो दरबारमा 'झिकाए' होलान् भन्ने अनुमान गर्न पनि गाह्रो छैन। तीन हजार स्त्रीसँग त उनले सम्भोग गर्न भ्याइसकेका थिए, तीमध्ये अधिकांशलाई उनले करणी (बलात्कार) गरे भन्ने अनुमान लगाउन गाह्रो छैन।
२०७९ मंसिर १७, शनिबार
www.ukaalo.com बाट
No comments:
Post a Comment