आर्य आगमनको समयमा हिमालय पहाड प्रागैतिहासिक किरातको भूमि भए पनि किरात यहाँको सर्वप्राचीन जाति होइन, बरु यसमध्येकै कुनै जाति चाहिं पाषाणकालदेखिका हुन सक्छन्।
सिन्ध सभ्यताकाल (२५००-१७०० ईपू लगभग) मा सिन्ध मालभूमिको उत्तरस्थित सिङ्गो हिमालय पर्वतमालाको दक्षिणी पाखो र त्यसको फेदी मैदानमा रहेका जातिलाई समुच्चामा किरात भन्ने गरेको पाइन्छ जसको उल्लेख शुक्ल यजुः र अथर्व वेदमा छ। ऋग्वेदमा यसको उल्लेख नहुनाको कारण के जस्तो लाग्छ भने त्यतिखेर आर्यहरू सिन्ध र गङ्गाका उर्वर मैदानमा आफ्नो वर्चस्व कायम गर्ने प्रयत्नमा थिए, त्यसैले उत्तरतिरको कठिन र रूक्ष भूमितिर यिनीहरूको ध्यान गएन।
गङ्गा मैदानमा आधिपत्य जमाइसकेर यिनीहरू पछिल्लो वैदिक कालमा उत्तरतिर पनि फैलन थाल्दा प्रथमतः उत्तराभिमुख ऋषि र सार्थवाहहरूको भेट किरातहरूसित भयो। त्यतिखेर आर्यहरूलाई हिमालय निवासी र त्यहाँबाट आउने वस्तुहरूको जानकारी राम्ररी भइसकेको थियो।
अथर्व वेदमा किरात ओखतीजन्य पदार्थका रूपमा चित्रण गरिएको छ, ‘यथा कैरातिका कुमारिका सका खनति भेषजम्। हिरण्ययीभिरभ्रिभिर्गिरीणामुप सानुषु।।’ (काण्ड १०, सूक्त ४, श्लोक १४)।
एवंरीतले संस्कृत वाङ्मयले किरातलाई हिमालय पर्वतका आखेटवृत्ति जङ्गली, गुफा निवासी, पतित, पीत वा गेरु वर्णी, किंपुरुष आदि अनेक भनेको पाइन्छ, हिमालयवासी देव शिवलाई पनि। यी अनेक अर्थजन्य भाषिक सङ्केतले किरात चिन्न मद्दत गर्छ। रामायण र महाभारत कालसम्ममा किरातको राम्रै पहिचान भइसकेको भेटिन्छ। रामायणमा रामका कुलगुरु वशिष्ठ हिमदाव (हिरदावी) पर्वतमा किरातहरूका साथ केही समय रहेको प्रसङ्ग छ जुन हाल इन्डिया (यहाँ राजनीतिक सीमाका आधारमा भारत नलेखिएको हो) को गढवालमा पर्छ।
प्रागैतिहासिक कालमा पश्चिम हिमालय मूलतः किरात क्षेत्र रहेको देखिन्छ। संस्कृत वाङ्मयले यस इलाकाका अनेक जातिलाई कहिले समुच्चामा जङ्गली किरात र कहिले दास, दस्यु, निषाद वा यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग आदिको बेग्लाबेग्लै नामले उल्लेख गरेको पाइन्छ। ऐतिहासिक तवरले भने कोल, मुण्डा, निषाद, पुलिन्द (कुणिन्द), शवर आदि किरातभन्दा अघिका जाति प्रतीत हुन्छ। आर्य वर्ण-व्यवस्थाले किरातलाई शूद्र र अर्धशूद्रमा गणना गरेको पाइन्छ।
अनेक जातिको समुच्चाजन्य नाम किरात वास्तवमा ती जातिले आफूलाई राखेको वा दिएको नाम होइन जसरी शुरूमा नेवार जातिभित्रका अनेक जातहरूले आफूलाई नेवार भनेर चिनाएका थिएनन्। यो कुरा अझ् तथाकथित ‘भोटे’ जातिबाट स्पष्ट हुन्छ। उच्च हिमालय पहाडमा आफूलाई भोटे र भोटिया भन्ने केही थरघर जात नभएका होइनन्, तर नेपाली वाङ्मयले ती बाहेक तामाङ, मगर, थकाली, गुरुङ, शेर्पा, खम्बू, लिम्बू, लेप्चा आदि सबलाई ‘भोटे’ भन्ने गरेको इतिहास ताजै छ। झण्डै यस्तै अवस्था प्रागैतिहासिक किरातको पनि देखिन्छ।
आर्य आगमनको समयमा हिमालय पहाड प्रागैतिहासिक किरातको भूमि भए पनि किरात समस्तमा यहाँको सर्वप्राचीन जाति होइन, यसमध्येका कुनै जाति पाषाणकालदेखिका हुन सक्छन्। गढवाल क्षेत्रमा कोल जातिलाई प्राचीन जाति मानिन्छ जो नवपाषाणकालदेखि त्यहाँ बसोबास गरिरहेको ठानिन्छ।
इन्डियाको उत्तराखण्डको पहाडी र त्यस फेदीको तराई क्षेत्रदेखि नेपालको गण्डक क्षेत्रका अर्धबनेली जीवनमा देखिने राजी, राउटे, कुसुन्डा र चेपाङ जस्ता जातिले प्रागैतिहासिक आखेटवृत्ति, गुफा निवासी, जङ्गली किरातको प्रतिविम्ब वर्तमानसम्म दिएको देखिन्छ।
कोलपछि मुण्डा, शवर जस्ता जाति यहाँ सँगै मिलिजुली रहन थाले जो किरातको विस्तारसँगै अझ् दुर्गम उच्च हिमाली क्षेत्रमा धपाइए भने कतिपय किरातसित मिसिए। किरात पूर्वतर्फ बढ्दै थिए। जो निकै पर पुग्न सफल भए ती अहिले पनि किरात नाममै अस्तित्वमा छन्। पश्चिम हिमालमा खस जाति फैलेपछि त्यहाँ किरातको वर्चस्व शिथिल भयो। खससित मिश्रित नहुनेहरू सीमान्तीकृत हुँदै गए।
सिद्धार्थ गौतमको पालामा यस क्षेत्रमा किरात जातिको फैलाइ थियो। गौतमको जन्म-राज्य कपिलवस्तुको पूर्व, दक्षिण र पश्चिममा प्रसिद्ध अनेक राज्य र नगरहरू थिए, तर उत्तरतिर थिएन। किन? रिह्स डेभिड्सको हवाला दिँदै भुवनलाल प्रधान लेख्छन्, ‘कपिलवस्तुको उत्तरमा चाहिं असंस्कृत पर्वतीय मङ्गोलियन मूलका जातिहरू थिए’ (नेपालमा बौद्ध धर्म)। पीसी मुखर्जीको हवाला दिँदै उनी पुनः लेख्छन्- कपिलवस्तुको वैभव देखेर बुद्धका बाजेको राज्यकालमा छिमेकी पहाडी जातिले यहाँ हमला गरे र राजकुमार शुद्धोदनले बहादुरीका साथ लडेर आक्रमणकारीहरूलाई धपाए।
कपिलवस्तुबाट तीन दिशामा राज्यहरूको नाम हुनु तर हिमालयतिर कुनै नगर वा राज्यको उल्लेख नहुनाको कारण स्पष्ट छ, त्यता कुनै राज्य कहलिने संरचना बनिसकेको थिएन, त्यो गणनायकीय सत्तानसिन ‘असंस्कृत पर्वतीय मङ्गोलियनमूलका’ मानिसहरूको इलाका थियो। त्यसो भन्नु संस्कृत वाङ्मयले दिएको किरातको हुलिया हो।
कपिलवस्तुका सीमान्त प्रदेशहरू दाङ जस्ता भित्री मधेशसम्म फैलिएका थिए र त्यतातिर पनि ब्राह्मणहरूको बसोबास बढ्दो थियो। यो कुरा गौतम बुद्धको जीवनकालबाट स्पष्ट हुन्छ। इन्डियाको उत्तर-पूर्वी मैदानमा आर्यहरू ईपू ७०० मा मात्र फैलिएको कुरा एसके चटर्जीको हवाला दिँदै एमएस थापा मगरले जनाएका छन् (प्राचीन मगर जाति र आख्खा लिपि)। अर्थात्, बुद्धभन्दा अघि नै आर्य-ब्राह्मणहरू हिमालयफेदी-मैदानमा आएर होचो हिमालय सिवालिक नाघी दाङ जस्ता प्रदेशमा पाइला दह्रो पारिसकेका थिए। अतः पीसी मुखर्जीले कपिलवस्तुको वैभव देखेर पहाडी जातिको ईर्ष्यावशको हमला भने तापनि अध्ययनहरूका आधारमा मलाई के लाग्छ भने त्यो हमला कपिलवस्तु नै जित्न गरिएको नभई ‘असंस्कृत पर्वतीय’ मानिसहरूले स्वतन्त्रताका साथ उपभोग गरिआएको क्षेत्रमा आर्यहरूको बढ्दो अतिक्रमणको प्रतिकार थियो।
किरात जाति धनुकाणधारी आखेटवृत्तिका, गुफा निवासीका रूपमा परिचित हुनाले यिनीहरू धनुकाणमय युद्धकलामा पोख्त थिए, त्यसैले महाभारतकालमा अर्जुनले उक्त कला शिवबाट सिक्न किरातरूप धारण गरेको कुरालाई किरातार्जुनीयले सगौरव विषयवस्तु बनाएको छ। कपिलवस्तु र रामनगर (नवलपरासी) लगायत फेदी मैदान, चुरे र महाभारत पर्वतमा हाल पाइने वननिवास रुचाउने, भर्खर स्थायी बसोबास थाल्ने र अर्ध-कृषि प्रणाली अपनाउने अनेक जातिका आधारमा त्यतिखेरका ‘असंस्कृत पर्वतीय’ मानिसहरूको अनुमान गर्न सकिन्छ जसलाई विद्वान्हरूले किरातको श्रेणीमा राखेका छन् भने कतिपय जातिलाई संस्कृत वाङ्मयले जङ्गली आखेटवृत्तिभन्दा भिन्न सम्मानित स्थान दिएको पाइन्छ।
देव जातिसँगै यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा लोकको चर्चा पुराणहरूमा हुनु र डिल्लीरमण रेग्मीको हवाला दिँदै कृष्णप्रकाश श्रेष्ठले मनुस्मृति अनुसार किरातहरू पनि लिच्छविहरूकै स्थिति र स्तरमा रहेको उल्लेख गर्नु (प्रज्ञा अर्धवार्षिक पत्रिका, अङ्क ९४) ले यिनीहरू उहिल्यै सभ्यतातिर उन्मुख थिए भन्ने बुझिन्छ। यहाँनिर स्मरण गर्नुपर्ने चाहिं सबभन्दा पुरानो मनुस्मृति ईपू दोस्रो, बढीमा ईपू चौथो शताब्दीको रचना हो। यसबाट के स्पष्ट हुन्छ भने उत्तरवैदिक कालमा किरातहरू केही थरी जङ्गली अवस्थामा त केही थरी सभ्यताको मार्गमा पनि थिए।
किरातमा गनिएका नेवारले प्रागैतिहासिक कालदेखि किरात क्षेत्रमा भोट-बर्मेली परिवारको भाषा आज पर्यन्त बोलिरहेका छन्। हाल अरू जातिको बाहुल्य र आर्य संस्कृतिको अङ्गीकारले नेवार किरातेतर भएको छ।
जङ्गली वा अर्धजङ्गली जीवन वृत्ति
इन्डियाको उत्तराखण्डको पहाडी र त्यस फेदीको तराई क्षेत्रदेखि नेपालको गण्डक क्षेत्रका अर्धबनेली जीवनमा देखिने राजी, राउटे, कुसुन्डा र चेपाङ जस्ता जातिले प्रागैतिहासिक आखेटवृत्ति, गुफा निवासी, जङ्गली किरातको प्रतिविम्ब वर्तमानसम्म दिएको देखिन्छ।
उत्तराखण्डको कुमाउँका चुरे र चुरेफेदीदेखि नेपालको पश्चिम तराई र भित्री मधेशमा करीब आधा शताब्दी अघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेका राजी किरात वंशज (रमेश कुमार राई, ‘ट्राइब्स अफ उत्तर प्रदेश: ब्रिफ इन्ट्रोडक्सन’, इन्टरनेशनल जर्नल अफ एड्भान्स रिसर्च, भोल्युम ४, इस्यू १, सन् २०१६) भए पनि यो विस्मृत भएर यिनीहरूले आफूलाई वन रावत, वन राजा र बन मानुस भन्दै रजपुतसित जोड्ने गर्नु आफ्नो पुर्खालाई उच्च खानदानसित जोड्ने मानव प्रवृत्तिको प्रभाव हो। मानवशास्त्री अन्वेषकहरू भोटबर्मेली परिवारको राजी भाषा बोल्ने यिनीहरूलाई शारीरिक बनोटका आधारमा किरातकै हाँगो मान्छन्।
मानवशास्त्री डोरबहादुर विष्ट जङ्गलको खुला ठाउँमा अस्थायी शिविर खडा गरी बस्न रुचाउने राउटेको जाति-नाम किरातबाट केही ध्वनि लोप र वृद्धि भई बनेको हुन सक्ने अनुमान गर्छन्। साथै, उनले खसहरूको सम्पर्कमा आएका राउटेहरू नै साउद र राउत भएका हुन् भनेर यस क्षेत्रमा राम्रै डुलफिर गरेका जानकारहरूले बताउने गरेको कुरा पनि सङ्केत गरेका छन् (सबै जातको फूलबारी)।
मुखाकृतिका हिसाबले आस्ट्रलोइड देखिए पनि प्रागैतिहासिक कालमै किरातीसँगको सम्पर्कमा आई यिनीहरूले भोटबर्मेली परिवारको भाषा अपनाएको प्रतीत हुन्छ। कर्णालीबाट पश्चिमका राउटेहरू २०४० सालतिरै जङ्गल छाडी बसोबास थालेर खेती तथा शिक्षामा प्रवृत्त भइसकेका थिए (कान्तिपुर, २९ असार २०७०) भने कर्णाली पूर्वका राउटे अहिले पनि जङ्गल रुचाइरहेका छन्।
लोपोन्मुख अवस्थाको कुसुन्डा जातिले स्थायी बसोबास र कृषि अपनाएको छ। भाषा एकल परिवारीय हुनु, वर्ण अरू जातिको भन्दा भिन्न गाडा कालो अनि पुड्को कदको हुनुले यो जाति किरातभन्दा अघि नै अस्तित्वमा रहेको जनिन्छ। कुसुन्डा भाषालाई ई.१९७१ देखि इन्डो-प्यासेफिक परिवारको मान्ने भाषावैज्ञानिकहरू देखा परेका छन्।
अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेसको जर्नल पीएनएएस (भोल्युम १०१, नं. १५, २००४) मा ‘कुसुन्डाः एन इन्डो-प्यासिफिक ल्याङ्ग्वेज इन नेपाल’ शीर्षकमा प्रकाशित पल ह्वाइटहाउस, तिमोथी अशर, मेरिट रुह्लेन र विलियम एस-वाइ वाङले संयुक्त रूपमा यस भाषालाई इन्डो-प्यासेफिक भाषा परिवारको हो भन्दै लेखेका छन्, ‘वर्तमान दसीका आधारमा अन्य इन्डो-प्यासिफिक भाषाबाट कुसुन्डाको छुट्टा प्रवासको सुनिश्चित रूप निर्देश गर्न नसकिए तापनि के कुरा प्रष्ट देखिन्छ भने कुसुन्डा हाल अरू इन्डो-प्यासिफिक भाषा बोलिने क्षेत्रबाट नेपालतिरको विपर्यय हिंडाइभन्दा न्युगिनी र अस्ट्रेलियातिरको मूल बसाइँसराइको अवशेष हो।’
आदिम कुनै कालखण्डमा यो भाषा बोल्ने तथा अन्य मानिस हिन्द उपमहाद्वीपको बाटो भई अस्ट्रेलिया गएको झ्लक त्यतातिर बस्ने आदिवासीहरूबाट पाइन्छ भने इन्डो-प्यासिफिक भाषा बोल्ने मानिस हाल बङ्गालको खाडीको अन्डामन टापुमा पाइनाले त्यहाँसम्म पनि नपुगी हिमालयतिर छड्केको कुनै समूह कुसुन्डा हुन सक्ने छनक पाइन्छ। कुसन्डा भाषा एकल परिवारीय नै हो भन्नेहरू पनि नभएका होइनन् (माधवप्रसाद पोखरेल, नयाँ पत्रिका, १० फागुन २०७६)। तर, यसलाई एकल परिवारीय मान्नेहरूले पनि त्यही कारण कुसुन्डा नेपालको प्राचीनतम जाति हो भनी नस्विकारी धर छैन।
वैदिक संस्कृत वाङ्मयले यस जातिलाई छुट्टै जातिका रूपमा उल्लेख नगर्नुको कारण तत्कालीन आर्यका नजरमा यी या त परेनन् वा जङ्गली जातिका रूपमा किरातमै गणना भए। यो जाति पाइने ठाउँका केही मानिसहरूको यिनीहरू सत्ता गुमेपछि जङ्गल पसेका ठकुरी हुन् भन्ने लौकिक धारणा चाहिं अनेक कारणले मिल्दैन। यी यहाँका आदि रैथाने, चङ्ख र सिपालु धनुर्धारी जाति भएकाले छिमेकी राउटे र चेपाङ यिनीहरूसित डराउँथे। कोही कर तिर्थे, कोही भागीभागी हिंड्थे।
अर्धबनेली जीवनयापन गर्ने चेपाङ पूर्वी क्षेत्रबाट बसाइ सर्दै कुसुन्डाको छिमेकी बन्न पुगेका हुन्। यिनीहरूले आफूलाई किरात भन्ने गरेको सङ्केत शिगेरु इइजिमा र योशिकाजु ताकायाले गरेका छन् (थकाली र नेपालको खेतीपाती, अनु. माधव पोखरेल)। ब्रायन हज्सनले चेपाङ भाषाको नजिकको सम्बन्ध भुटानको ह्लोपा (लोपा) सित भएको उल्लेख गरेका छन्। त्यस्तै राममणि ढुङ्गेलले यिनीहरू पूर्वतिर फिरन्ते जीवन बिताइरहँदा एक हाँगो बाटो बिराएर दोलखा पुगेका र चेपाङ कहलिएको लौकिक भनाइ जनाउनाका साथै चेपाङ भाषाको लवज दोलखाको थामी भाषासित मिल्ने सङ्केत गरेका छन् (चेपाङ समुदाय र संस्कृति)।
डोरबहादुर विष्टले यिनीहरू दोलखा जिल्लाको सुनाथलीबाट यता बस्न आएको उल्लेख गरेका छन्। जङ्गली लहरे घैया जातको धानखेती, खेतीमा पूर्व मनसुनी मौसमको सदुपयोग, घैया धानखेती, तरुलको महत्ता, माछा मार्ने आफ्नै प्रविधि आदि कारणका आधारमा शिगेरु र योशिकाजुले यिनीहरूलाई सिक्किमका पहाडी क्षेत्रका लेप्चा र नेपालका राई-लिम्बू तथा त्यसभन्दा पनि पूर्वका किराती ढङ्गको कृषि प्रणाली अझै जोगाएर राखेको समुदाय मानेका छन्।
निश्चय नै नेवारका तथाकथित उच्च वर्गमा किरात छैनन्, यदि छन् भने, र बुद्ध थारू नै हुन् भने शाक्यहरू नै माथिल्लो वर्गीय किरात हुन्।
पुकुन्थलीचेपाङ अरू जातिको सम्पर्कमा पहिला नै आई कृषिमा लागेकाले यिनीहरूमा जातीय मिश्रण भएर त्यसै अनुसार धेरै थरहरू बनेको सङ्केत राममणिको छ। आफूलाई सुन-प्रजा भन्न मन पराउने कछारे चेपाङहरू चाहिं पश्चिम भागमा अलि भिरालो जङ्गलको छेउछाउ सानातिना छाप्रा हालेर बस्ने र खेतीमा पूरै भर नपरी जङ्गलको उत्पादन खोज्ने रहर गर्ने तथा बाहिरिया मानिससँग सकेसम्म नजिक हुन मन नगर्ने स्वभावका रहेको सङ्केत डोरबहादुरले गरेका छन्।
सभ्यताभिमुख पुराना किरात
आर्य संस्कृतिको आदिम विस्तारलाई विना सङ्घर्ष वा पराजयपछि स्वीकार गरेका पुराना किरात जाति पनि छन् जसलाई आर्य सभ्यताले विविध रूपमा अङ्गीकार गरेको देखिन्छ। यस्ता जातिमा आर्य संस्कृतिको प्रभावका कारण किरातीपन गुमिसकेको छ भने कुनै जाति बिलाइसके होलान्। यक्ष यसरी बिलाएर पुराणमा सीमित भएको जाति देखिन्छ। परन्तु वर्तमान किरातमा आफूलाई यक्षकै सन्तति मान्ने याख्खाहरू पनि छन्। यसो हो भने किरातीपन हालसम्म जोगाइराख्ने प्रागैतिहासिक किरातमा यो पर्छ।
यक्षसित आर्यको शक्ति सङ्घर्ष भएको देखिँदैन बरु बौद्धिक सङ्घर्ष भएको देखिन्छ, यद्यपि यी धनुर्धारी योद्धा थिए। पुराण वाङ्मयले यक्षराज कुवेरलाई उत्तर दिशाका दिक्पाल बनाई धनका रक्षक तुल्याएको छ। ऐतिहासिक तवरले भारतका प्राचीन यक्ष-मूर्तिहरूले यक्षलाई मङ्गोलजन्य हुलियाका पुड्का, गोलो अनुहारका, शारीरिक गठन मोटाघाटा सुदृढ र लडाकूका रूपमा देखाउँछन्। सम्राट् अशोकको कालमा यक्ष स्थापत्य र मूर्तिकलामा संलग्न रहेका तथा कतिपयले बौद्ध धर्म अपनाएको कुरा बालचन्द्र शर्माले उल्लेख गरेका छन् (गोरखापत्र, २२ चैत २०२०)।
हिन्दू पुराणले कुवेरको राज्यांशमा पर्ने गन्दमादन पर्वत कैलाशभन्दा उत्तर दिशामा रहेको जनाउनाले यक्ष-भूमि वर्तमान तिब्बती पठारमा रहेको बुझिन्छ। यक्षको पाली उच्चारण यख्ख हो जसबाट याख्खा बन्नु असहज होइन। यक्षबाटै खम्बूको ‘यायोख्खा’ र लिम्बूको याक्थुङ, याक्थुम्बा/याक्थुम्मा शब्दहरूको विकास भएको सङ्केत गर्नेहरू पनि छन् र यक्षबाटै नेवार भाषामा ‘लाखे’ शब्द बनेको देखिन्छ। यसबाट प्रागैतिहासिक कालमा लिम्बू, खम्बू र याख्खालाई एकै वर्गमा राखेर यक्ष नै पो भनिन्थ्यो कि भन्ने अनुमान हुन्छ।
किराती भाषामा यी शब्द संस्कृतबाट आएको मान्न सकिँदैन। त्यसैले विपर्यय यक्ष शब्द पो कुनै किराती भाषाबाट संस्कृतमा गएको हो कि भन्ने पनि प्रतीत हुन्छ। संस्कृत वाङ्मयकै हिसाबले चाहिं यक्ष शब्दको सम्बन्ध रक्षसित पनि देखिन्छ। बौद्ध साहित्यले पाले-पहरे (उद्यानपालक, घाटपालक) का रूपमा यक्षको उल्लेख गर्ने गरेका धेरै उदाहरण छन्। यस ऐतिहासिकताले वर्तमानमा समेत पहाडिया नेपाली इन्डियामा द्वारपालको काममा निकै रहन्छन् भन्ने भनाइ स्मरण गराउँछ।
बुद्धले आफ्ना विचारको प्रचार गरेका ठाउँमध्ये थारू भूमि पनि पर्छ। उनले कपिलवस्तु आउँदा आफ्ना स्वजातिसित कुन भाषा बोले थाहा छैन, तर अन्य क्षेत्रमा मूलतः पाली बोले।
मगध साम्राज्यको राजधानी राजगृह नगरका नगरद्वारपाल यक्ष थिए। यो कुरा कोशलका श्रेष्ठी अनाथपिण्डिक राजगृह जाँदाको एक घटनाबाट स्पष्ट हुन्छ। रक्षसितै सम्बन्धित भएका कारण यक्ष बौद्ध तथा हिन्दू पुराणमा वेलावेला राक्षससित अतिव्यापन भएको पाइन्छ।
वर्तमानमा थारू शारीरिक रङ, भाषा र धर्म-संस्कृतिले प्रत्यक्षतः किरात झैं नदेखिए पनि बाबुराम आचार्य (नेपाल सांस्कृतिक परिषद् पत्रिका, विसं २०१०), मदनमणि दीक्षित (रूपरेखा, पूर्णाङ्क २०३), इमानसिं चेम्जोङ (किराती दन्त्य-कथा) आदिले थारूलाई किरात भनेका छन्। किरात संस्कृति र भाषामा आर्य प्रभाव कसरी पर्यो र कसरी त्यसभन्दा दक्षिणपूर्व एशियामा समेत फैलियो भन्नाका लागि सुनीतिकुमार चटर्जीको कथन मननीय छ, ‘५०० ईपू अघि नै निषाद, द्रविड, किरात र आर्य-तत्त्वहरूको सम्मिश्रणले भारतमा एउटा सम्मिलित संस्कृतिको विकास भइसकेको थियो जसको बाहिनी थियो आर्यहरूको भाषा संस्कृत र जसको प्रधान अभिव्यक्ति ब्राह्मण तथा बौद्ध-धर्महरूका रूपमा भएको थियो। यो संस्कृति आफ्नू भाषा संस्कृतका साथ, इण्डो-चाइना र इण्डोनेशियाका ती विभिन्न जातिहरूमा शीघ्र नै प्रसार पाउन लाग्यो जो भारतको आवादीको एक ठूलो अंशसित, रक्त र भाषाको दृष्टले, मूलतः सम्बन्धित थियो’ (नेपाल सांस्कृतिक परिषद् पत्रिका, विसं २०१०)।
बुद्धले आफ्ना विचारको प्रचार गरेका ठाउँमध्ये थारू भूमि पनि पर्छ। उनले कपिलवस्तु आउँदा आफ्ना स्वजातिसित कुन भाषा बोले थाहा छैन, तर अन्य क्षेत्रमा मूलतः पाली बोले। त्यस क्षेत्रमा स्थानभेदका लौकिक भाषा अनेकन् भए पनि पाली धेरैले बुझ्ने सम्पर्कभाषा बनिसकेको थियो। आर्यहरूको व्याप्ति हिमालयको फेदीमा बढ्न थालेपछि बुद्धभन्दा केही सय (करीब ३००) वर्ष अघिदेखि सम्पर्कभाषा पालीको चलनचल्ती बढेको मानिन्छ। पाली वैदिक संस्कृतबाट विचलन भएर अशिक्षित कान र जिब्रालाई अनुकूल बनेको बोलीचालीको सरलीकृत संस्कृत थियो।
यसमा ‘श’, ‘ष’ भेद हटेर ‘स’ ध्वनिको मात्र प्रयोग जस्ता अनेक सरलीकरण थियो भने त्यस इलाकाका भाषाहरूबाट शब्द र ध्वनि-पद्धति लगायत अनेक मिसिएर जनजिब्रोलाई सहजभन्दा सहज भएको थियो। यसको नाम पाली कसरी भयो भन्नेबारे अनेक मतमध्ये थेरवादी बौद्ध मत चाहिं बुद्ध-परियाय (पर्यायः बुद्धको पद्धति अर्थात् बुद्धको कथन, उपदेश वा भाषा) बाट भएको भन्ने छ।
बुद्धको जीवन दर्शनको तत्कालीन प्रभावले पालीको प्रचारमा थप सघाउ पुगेकोमा शङ्का रहँदैन। यसै क्रममा भोटबर्मेली थारू-भाषा नै विस्मृत भयो जसरी वर्तमान नेपालमा नेपाली भाषाको प्रभावमा कतिपय जातजातिका नयाँ पुस्ताले आफ्नो भाषा बोल्न छोडेका छन्। यस सन्दर्भमा बुद्ध स्वयं थारू हुन् भन्ने हाल उठिरहेको सवाल यस लेखसित खास सान्दर्भिक नभए पनि चासोको विषय बन्छ। बाबुराम आचार्यले लमजुङका दुरा जातिको नयाँ पुस्ताले किरात भाषा बोल्न छाडेका कारण २५ वर्षपछि दुरा भाषा लोप हुने सङ्केत २०१० सालमा गरेका थिए। थारूको सन्दर्भ पनि यस्तै थियो।
थारू जाति इन्डिया र नेपालको ठूलो भौगोलिक चक्लामा फैलिएको छ। औलो प्रतिरोधात्मक शारीरिक क्षमताका कारण यिनीहरू यहाँ तीन हजार वर्षभन्दा अघिदेखि बसोबास गरिरहेको सिद्ध हुने कुरा हज्सनले जनाइसकेका र अधिकांशले मानिसकेको यथार्थ हो। औलो पच्न तीन वर्ष लाग्ने र यिनीहरू बुद्धकालदेखि यहाँ रहेकाले करीब ५-६ हजार वर्षदेखि बस्दै आएको अनुमान हुन्छ। अन्यथा बुद्धकालमा त्यो धानका लागि प्रसिद्ध क्षेत्र हुने थिएन।
थारूका बाँकी सबै कुरा किरातसित मिल्दै जान्छ। शारीरिक बनोट र अनुहारको आकृति मङ्गोलीय छ।
नेपाल र भारतको मलेरिया नियन्त्रण कार्यक्रम ई. १९५० को दशकपछि यहाँ अन्य जातिको आवादी हलक्क बढेको हो। उखरमाउलो घाममा खेती पेशा अपनाउने जाति भएको कारण थारू तामे-कालो वा गेरु वर्णको हुनु वातावरण विज्ञानसम्मत कुरा हो। घाममा बस्नुनपर्ने त्यस इलाकाका रइस राजकुमार सिद्धार्थको छाला सुवर्णमय (गोरो) रहेको कुरा त बौद्ध साहित्यले स्पष्ट अङ्कन गरेकै छ, उनकी पत्नी यशोधराको अर्को नाम भद्दकच्चाना (संस्कृतः भद्रकञ्चना) रहनु पनि यसै वर्णसित सम्बद्ध छ।
थारूका बाँकी सबै कुरा किरातसित मिल्दै जान्छ। शारीरिक बनोट र अनुहारको आकृति मङ्गोलीय छ। वासस्थानका लागि आदिम युगीन काठपात, बाँस-भाटा, खर-स्याउलाको प्रयोग गर्छन्। परिवारमा महिलाको उचित सम्मान हुन्छ। धर्मका सम्बन्धमा बाबुराम आचार्य लेख्छन्, ‘थारूहरूले प्राचीन युगमा बौद्ध धर्म लिई आर्य-सभ्यतामा रँगिदा आर्य-भाषा लिएका र तेह्रौं शताब्दीदेखि उत्तर भारतवर्षका मैदानबाट बौद्ध धर्म उठेर गएको हुनाले यिनीहरूले पौराणिक धर्म ग्रहण गरेको अनुमान हुन्छ। यिनमा शिक्षाको प्रचार अत्यन्त कम हुँदा धार्मिक भावना कम रहेको छ।’
यसबाट यिनीहरू हिन्दू धर्मका आध्यात्मिक वा आनुष्ठानिक पद्धतिमा कमजोर छन् भन्ने बुझिन्छ। यिनीहरूले व्रत बस्नु बाहेक अरू खासै केही नगर्ने बरु लौकिक देवता, झँक्रीवाद र परम्पराका आफ्ना रीतिरिवाज मान्ने सङ्केत फणि ‘श्याम’ थारूले दिएका छन् (प्रज्ञा, १०६)। फणिले स्थानभेद अनुसार यिनीहरूले मान्ने अनेक धामी देवताका नाम दिएका छन्।
बाबुरामले नेपालका थारूका अनेक थर-घर प्रजातिको उल्लेख गर्ने क्रममा इन्डियाको उत्तराखण्डको कुमाउँको तराईमा पाइने बोक्सा थरको स्त्रीलिङ्गी शब्द बोक्सीबाट मानिसलाई सताउने कुविद्या भएका मानिस जनाउने बोक्सा-बोक्सी शब्द आर्य र अन्य जातिको भाषामा विकास भएको जनाएका छन् जसबाट थारू झँक्रीवादको प्रबलताको सङ्केत पनि मिल्छ। ईश्वर बरालले भने बोक्सालाई थारू नै नभनी थारू जस्तै जाति भनेका छन् (नेपाल सांस्कृतिक परिषद् पत्रिका, विसं २००९)।
किरातमा गनिएको अर्को जाति नेवारले प्रागैतिहासिक कालदेखि किरात क्षेत्रमा भोट-बर्मेली परिवारको भाषा आज पर्यन्त बोलिरहेको छ। हाल अरू जातिको बाहुल्य र आर्य संस्कृतिको अङ्गीकारले नेवार किरातेतर भएको छ। भोटबर्मेली भाषामा गैरभोटबर्मेली भाषीहरू पनि समेटी आफ्नै विशिष्ट संस्कृतिको विकास गरेको जाति हो नेवार। यसका जातजाति सामाजिक मर्यादामा पाँच वर्गमा विभाजित रहेको पाइन्छ- १. पुरोहित र राजघराना (राजघराना नभएपछि यो वर्ग दोस्रोमा सामेल छ), २. भारदार र श्रेष्ठी (उच्च व्यापारी), ३. कृषि श्रम गर्ने, ४. अन्य उद्योग र श्रम गर्ने र ५. निचो श्रम गर्ने (दलित)।
यस अनेकतामा नेवारमध्येका पुराना बासिन्दाहरू किरात हुनुपर्ने कुरा स्वसिद्ध छ। नेवारका अनेक जातहरूमा आफूलाई दरो साथ किरात दाबी गर्नेमा द्यःला (पोडे) हुन्। परम्परागत कथन अनुसार लिच्छविहरूसित किरात सेनाको पराजयपछि निहत्था-निमुखा तुल्याई दलितमा परिणत गरिएको जात हो यो। सामाजिक परम्परामा यिनीहरू काठमाडौं खाल्डोका आदिदेवी अजिमाहरूसित सम्बद्ध छन् र यिनबाट सबैले प्रसाद ग्रहण गर्छन्, यद्यपि सामाजिक मर्यादामा अस्पृश्यमा दरिएका छन्। खाल्डोमा गोपाल वंशको बस्ती बसेको आदिस्थलमा मनाइने प्राचीन बखुँमदः जात्रा (यद्यपि अहिले त्यस जात्रामा पछि स्थापित आर्य संस्कृतिजन्य देव-देवीको खट जात्रा गरिन्छ) मा जात्राको खास स्थल ‘बखुँ’-मा पोडेलाई नाइके बनाई लहरै बसेर भोज खाने प्रचलन छ (श्रीकृष्ण महर्जन, ‘स्वनिगःया न्हय्-गाँ जात्रा’, गोरखापत्र, १५ मंसीर २०७१)।
नेवार संस्कृतिमा नवागन्तुकलाई सहर्ष स्विकारी सहृदयका साथ सांस्कृतिक आदानप्रदान गरी नवागन्तुकहरूलाई पेशा, रुचि, मन-मेलका आधारमा आफ्नो वर्गमा भित्त्याएर छुट्टै थर वा आफ्नै थर पनि दिने परम्परा थियो।
यी रीतहरूले यस जातिलाई यथेष्ट सम्मान गरेको देखिन्छ, तर पनि किन अस्पृश्य? त्यसैले किरातको पराजय र काठमाडौं खाल्डोमा आर्यहरूको बढ्दो वर्चस्वका कारण उनीहरूले पुराना जातिलाई जतिसक्दो दबाउनामै हित देखेर अस्पृश्यमा गणना गरेको साँचो प्रतीत हुन्छ। बरु लिच्छविभन्दा अघि नै यो प्रक्रिया सुरू भइसकेको हुन सक्छ। किनभने, लिच्छविभन्दा अघिको एउटा लामै कालखण्डको नेपालको इतिहास फेला पार्न सकिएको छैन। महेशराज पन्तको ‘मान्ने हो भने’ पदावलीले समेत यो कुरा ध्वनित गर्छ, ‘जनश्रुतिलाई सयौँ सय वर्षपछि लिपिबन्ध गरिएको नेपालको इतिहासलाई मान्ने हो भने तात्कालिक लिखित इतिहास भएको लिच्छविवंशले नेपालमा राज्य गर्न थाल्नुभन्दा अगाडि तीन थरी वंशले क्रमशः राज्य गरेको देखिन्छ’ (हिमाल मासिक, पुस २०७८)।
यही स्थिति नेवारको नाय् (कसाइँ) जातको पनि छ। प्राचीन खलकका कसाइँ यहाँका आदिनेवार हुन्। हाल यिनीहरूको मूल पेशा भैंसी पाल्ने, राँगाको मासु र भैंसीको दूध बेच्ने हो। पहिला यो सेना-समूहको वर्ग थियो (पदम श्रेष्ठ, नेवार)। यिनीहरू आफूलाई महिषपालवंशी किरात दाबी गर्छन्। यिनलाई पनि अस्पृश्यभन्दा माथिको ‘तल्लो जात’ मै गणना गरिएको छ। नेवारमा आफूलाई किरात भन्ने मालाकार (गथु) पनि छन्। यी पनि ज्यापूभन्दा किञ्चित् तल राखिएका छन्।
यी बाहेक नेवारको प्राचीनतम जाति ज्यापू पनि हो। नेवार संस्कृतिमा नवागन्तुकलाई सहर्ष स्विकारी सहृदयका साथ सांस्कृतिक आदानप्रदान गरी नवागन्तुकहरूलाई पेशा, रुचि, मन-मेलका आधारमा आफ्नो वर्गमा भित्त्याएर छुट्टै थर वा आफ्नै थर पनि दिने परम्परा थियो, जसकारण एकै वर्गमा पनि अनेक नश्लीय जातजाति समावेश रहेको, एकै आगमका मानिसमा पनि गोत्र फरक रहेको इत्यादि पाइन्छ। यस्तो थर दिने चलन अन्य जातिमा पनि छ। उदाहरणार्थ लिम्बू जातिमा कुनै अर्को लिम्बू वा गैरलिम्बूलाई लिम्बू-थरमा प्रवेश गराइयो भने नयाँ थरधारीलाई ‘चोकफुङे’ (चोकफुङे यङयाङ वा चोकफुङ्गे कुरुङबाङ आदि) भनिने चलन छ।
ज्यापू नेवारमा निकै ठूलो वर्ग हो र यसमा पछि अनेक थरी प्रवेश गरेको इतिहास टड्कारै भेटिन्छ। नवप्रवेशी प्रजाति बाहेक यहाँका रैथाने ज्यापूहरूको शारीरिक गठन र मुखाकृति पश्चिम नेपालका मूलतः दङ्गारू थारूसित धेरै हदसम्म मिल्दछ। लैनसिंह बाङ्देलले थारू र ज्यापूको ‘एनाटोमी’ को चर्चा गरेका छन् (प्राचीन नेपाली मूर्तिकलाको इतिहास)। शाक्यहरू आफ्ना राज्य गुमाएर नेपाल खाल्डो आउँदा राजखलक बाहेक सैनिक, हरूवा-चरुवा, नोकर-चाकर, रैती-मोही पनि थिए भने ती अधिकांशतः नेवारको ज्यापू समुदायमा समाहित भएको अनुमान लगाउन सकिन्छ, किनभने अहिले पनि खाँटी ज्यापू जीवन-संस्कृति र थारू जीवन-संस्कृतिको सूक्ष्म अध्ययन गर्दा निकै मिल्दाजुल्दा पक्षहरू पाइन्छ जसको सावधानीपूर्ण तुलनात्मक अध्ययनको खाँचो छ। उदाहरणार्थ दुवै समुदायका महिलाहरूको गोदना-शृङ्गारप्रतिको मोह, दुवैसित भएको दफा बाजा प्रकारको नामको समानता, दुवैको कृषि प्रणालीप्रतिको लगाव र शिल्प, थारूको गुर्वा जस्तै नेवारमा पनि गुर्वाचार्य थर हुनु र उपचारको काम गर्नु आदिलाई लिन सकिन्छ।
शाक्य र कोलीय शाक्यहरूको काठमाडौं खाल्डो आगमनसित सम्बद्ध अर्को जात तन्डुकार (नेवारभाषामा खुसः) पनि हो। यी कोलीय र नाय् (कसाइँ) वंशका हुन् भन्ने दुई भनाइ छ (पदम श्रेष्ठ)। यी कोलीय हुन् भने कोलीय राजखलक (कोलीय शाक्य) इतरका थारू हुन्, कोलीय र कपिलवस्तु दुवैका शाक्यहरूले नेपाल खाल्डोमा प्रवेश गरी नेवार बन्ने क्रममा आफ्नो थर शाक्य नै कायम राखेका थिए। त्यसैले तन्डुकार राजखलक शाक्य होइनन्। अतः यी थारू भए पनि अथवा कसाइँकै भाइखलक भए पनि किरात हुन्। यदि यी कोलीय हुन् भने धेरै सम्भावना के छ भने खाल्डो प्रवेश गरेपछि यी चोकफुङ्गे कसाइँ भए र कसाइँका भाइखलक।
निश्चय नै नेवारका तथाकथित उच्च वर्गमा किरात छैनन्, यदि छन् भने, र बुद्ध थारू नै हुन् भने शाक्यहरू नै माथिल्लो वर्गीय किरात हुन्। नेपाल खाल्डोलाई किरात वंशपछि उच्च गैरकिरात वर्गले शासन गर्यो। किरातलाई निचो बनाउँदै दबायो। त्यसैले नेवारका ज्यापूदेखि मुनिका मानिएका जातहरूमा सूक्ष्म छानबिन गरे अरू पनि किराती वंशज फेला पर्न सक्छन्।
हाल गन्धर्वलाई खस वर्गको मान्ने गरिन्छ, तापनि मेरो विचारमा गन्धर्व किरात महावर्गमा पर्ने अर्को जाति हो जसलाई चलनचल्तीमा गाइने भन्ने गरिएको छ। दलित वर्गमा गणना गरिएको यस जातिको मुख्य पेशा गायन हो। यस पेशाका महिलाहरू पहिला नृत्य गर्थे, तर नेपालमा भने यस्तो खास देखिएको छैन। पुराणहरूमा देव जातिसँगै यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा भनेर वर्णन गरिए पनि अप्सरा वास्तवमा गन्धर्वकै स्त्री जाति हो। गन्धर्व-अप्सरा वास्तवमा हिमाली घाँच-पाखामा कुर्चा खानुअघि सिन्ध-गङ्गाका मैदानी नगर क्षेत्रमा फैलेको जाति रहेको कुरा पुराण साहित्यले जनाउँछ।
यिनको पेशाले नै यिनको अस्तित्व नगरहरूमा हुनुपर्ने जनाउँछ। यस्तो अनुमानको आधार के हो भने उत्तरवैदिक कालमा साङ्गीतिक क्षेत्रमा गन्धर्वको कलाको सम्मानसाथ समावेश भइसकेको बुझिन्छ। सामवेदको उपवेदका रूपमा गन्धर्व वेद रहेको र गात्रवीणाका स्वरहरूमध्ये एउटा गान्धर्व रहेको उल्लेख रामशरण दर्नालले गरेका छन् (प्रज्ञा, ९४)। गात्रवीणा भनेको ऋचा पाठ गर्दा उजाइएको दाहिने हत्केलाका औंलाले सङ्केत गर्ने गायन-स्वर हो।
यसरी नै नेपालका सन्दर्भमा नाग, असुर लगायत दनुवार (नवागन्तुक बाहेक), माझी (बोटे/कुशहर), बरामु, कुमाल आदि वेलाबखत किरातका रूपमा चर्चा हुने गरेका वा किरात हुन सक्ने जाति पनि आदिम कालदेखि बनेली जीवन त्यागेका जाति प्रतीत हुन्छ। असुर र नाग हिमालय पहाडभन्दा बाहिर पनि निकै फैलेको जाति हो। आज हिमालय क्षेत्रमा यिनीहरूको स्पष्ट उपस्थिति देखिँदैन, तर कुनै जातिमा मिसिएर रहेको हुन सक्छ।
असुर र नागलाई पनि पहाडी सन्दर्भमा सगोलमा किरातकै रूपमा चर्चा गरिन्छ। तर, यी आफैंमा विशाल जाति भएकाले यिनको छुट्टै चर्चा आवश्यक छ। दनुवारलाई इमानसिं चेम्जोङले किरातकै सन्तति उल्लेख गरेका छन्। किरात हिमालय निवासी गैरआर्य नश्लका, मूलतः मङ्गोल छनकका मानिसको सगोल नाम भएको हुँदा छन्त्याल, बनकरिया जस्ता जातीयता स्पष्ट भइनसकेकालाई पनि किरातमै गणना गर्न सकिने आधार छ।
यस रचनामा खाँटी किरातमा गणना भएका खम्बू (राई), लिम्बू, सुनुवार, जिरेल, थामी, धिमाल, मेचे, कोचे, लेप्चा आदि जातिको उल्लेख भएन। त्यसको अर्थ यी प्रागैतिहासिक किरात होइनन् भन्ने होइन। हालैसम्म किरात महाजातिलाई जीवित राखिराखेका यी प्रजातिलाई प्रागैतिहासिक विशेषण लगाइरहनु आवश्यक नभएकाले चर्चा नगरिएको हो।
000
(प्रधान लेखक/समालोचक हुन्। हिमालको २०७८ फागुन अंकबाट।)
No comments:
Post a Comment