Monday, January 22, 2024

पृथ्वीनारायण शाहको उदयमा अंग्रेज सरकारको भूमिका - वीडी जोशी

 बंगालमा उठेको सन्यासी विद्रोहको नारा ‘वन्दे मातरम्’ ले भारतको स्वतन्त्रता संग्राममा जोश र उर्जा प्रदान गरिरह्यो । सन् १७६३ देखि चलेको उक्त सन्यासी विद्रोह मा किसान, साना जमिन्दार, मुस्लिम फकिर समेत संलग्न थिए। उक्त बिद्रोह दबाउन ब्रिटिसलाई भरपुर सहयोग गर्ने एक ऐतिहासिक पात्र थिए- पृथ्वीनारायण शाह । यो कुरा थाहा पाउँदा तपाईं छक्क पर्न सक्नुहुन्छ । अंग्रेजविरुद्ध लडेको, ब्रिटिस साम्राज्यसँग डटेर सामना गर्दै नेपाल ‘एकीकरण’ गरेको लगायतका फोकटिया कथा सुन्ने बानी परेको कानमा यो तथ्य बिझाउन पनि सक्छ ।

पटनाका अंग्रेज हाकिम जर्ज भेन्सिटार्टले ३० अक्टोबर, सन् १७७३ मा पृथ्वीनारायणलाई चिठी लेखेरै सन्यासी विद्रोह दबाउन सहयोग मागेका थिए । ब्रिटिसहरूले लुटेरा र बदमास भनेका ती सन्यासी भेषमा रहेका किसान बिद्रोहिहरु ब्रिटिस सरकारको लगान असुली नीति र आफ्नो जमिन खोसिएका कारण पीडित भएर विद्रोहमा ओर्लिएका थिए । कम्पनी सरकारविरुद्ध गाउँ–गाउँमा जागरण फैलाउदै सरकारीअधिकारी बिरुद्ध उठेको त्यो विद्रोहलाई दबाउन सन् १७७३ मा अभिमानसिंह बस्नेतको कमाण्डमा पृथ्वीनारायणले गोर्खाली फौज पठाएका थिए । अंग्रेजको व्यापारिक कोठीहरू लुट्न आएका सन्यासी दलको महोत्तरीमा संहार गरेर अभिमानसिंहको फौजले अंग्रेजलाई लुटिनबाट बचाएको विवरण पाइन्छ ।
सन् १७७४, जनवरी १४ मा बंगालका गभर्नर वारेन ह्यास्टिङलाई पठाएको एक पत्रमा पृथ्वीनारायण शाहले आफूले भेन्सिटार्टको अनुरोधमा अंग्रेजी कारखाना लुट्दै हिँडेका सन्यासीहरूलाई कडा दण्ड दिएको उल्लेख गर्दै ब्रिटिस सरकारले बुद्धिकर्ण रायलाई पक्रेर विजयपुर कब्जा गर्न सहयोग गरेको खण्डमा सन्यासी विद्रोहीहरूलाई बंगाल प्रवेश गर्नबाट रोक्ने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । ८४ वर्षपछि सन् १८५७ मा लखनउ लुट मच्चाउँदै भारतको प्रथम स्वतन्त्रता संग्राम मानिने सिपाही विद्रोह दबाएर अंग्रेजको बफादार बन्ने जंगबहादुर राणा अन्ततः पृथ्वीनारायणकै पदचिन्हमा हिँडेको मान्न सकिन्छ ।
कुलमण्डल खाँ दिल्ली दरबारबाट ‘शाह’ उपाधि पाएर ‘खाँ’ बाट ‘शाह’ बने, त्यहीँबाट शाह वंशको उदय भयो । राजा महेन्द्रले हटाउनुपूर्वसम्म शाह-वंशीय राजाहरूले ‘बहादुर समशेर जंग’ को उपाधि पनि धारण गर्दथे । एउटा प्रमाणको लागि सन् १८१६ को सुगौली सन्धिको प्रस्तावनामा नेपालका राजाको पूरा नाम ‘गीर्वाणु युद्ध विक्रम शाह बहादुर समशेर जंग’ उल्लेख गरिएको छ । यो उपाधि कसले र किन दियो ? नेपालको इतिहासमा यसले महत्त्वपूर्ण स्थान राख्छ ।
यो फरमान तौतर प्रगन्ना (धनुषा-पर्सा) को जागिरसँग सम्बन्धित थियो । शाह आलम द्वितीयले १२ अगस्ट १७६५ को इलाहाबाद सन्धिबाट तौतर प्रगन्नाको दिवानी अधिकार (राजस्व संकलन गर्ने अधिकार) कम्पनी सरकारलाई दिएका थिए । यो क्षेत्रमा सन् १७६५ देखि उनीहरूले राजस्व असुल गर्दै आएका थिए । यसकारण तौतर प्रगन्नको जागिर अंग्रेजकै सिफारिसमा पृथ्वीनारायण शाहलाई दिएको देखिन्छ ।
पृथ्वीनारायणको माग बमोजिम अंग्रेजकै सिफारिसमा हिजरी संवत् ११८४, २६ जिल-का-अहद (एघारौं महिना), अर्थात् १२ मार्च १७७१ मा दिल्लीका मुगल बादशाह शाह आलम द्वितीयको इलाहाबाद दफ्तरबाट गोर्खाली ‘जमिन्दार’ पृथ्वीनारायण शाहको नाममा एउटा फरमान जारी भयो । उक्त फरमानमा पृथ्वीनारायणलाई ‘बहादुर समशेर जंग’ को उपाधिसहित उनलाई ४ हजारदेखि ५ हजार सम्मको फौज राख्ने वा राख्न पाउने अधिकार रहेको ‘जमिन्दार’ को रूपमा वर्तमान नेपालको मध्य-तराई र मधेसको भूमि जागिर स्वरूप प्रदान गरियो । उतिबेला यो भू-भागमा अंग्रेजको दिवानी अधिकार भए तापनि सार्वभौम अधिकार मुगलकै थियो । उक्त भू-भाग अंग्रेजले चाहेको बखत खोस्न सक्ने किसिमले जागिरको रूपमा पृथ्वीनारायण शाहलाई दिलाइएको थियो ।
सन् १७६४ अक्टूबरको बक्सर युद्धमा शाह आलम द्वितीयसहित नवाबहरूको संयुक्त फौज ब्रिटिससँग पराजित भयो । इलाहाबाद सन्धिअनुसार शाह आलम द्वितीयबाट ब्रिटिसले २५ अगस्त १७६५ मा तत्कालीन बंगाल, उडिसा र बिहारको दिवानी अधिकार पाएपछि कम्पनी सरकारले बारा, पर्सा र रौतहटको राजस्व आफैँ उठाउन सुरु गरेको थियो । तर, केही वर्षपछि सेन राजाले मालगुजारी बुझाएका पुराना रसिद देखाएर, विभिन्न उपाय वा सम्झौताद्वारा पटनाका अंग्रेज हाकिमलाई राजी गराई यो अधिकार पृथ्वीनारायणले लिन सफल भए । त्यसपछि कम्पनी सरकारको पटना राजस्व परिषद्मा तौतर प्रगन्ना (पर्सादेखि धनुषा) को राजस्व उनले बुझाउँदै आएका थिए ।
नेपाल कब्जा हुनुभन्दा ६ वर्षअघि १२ अगस्ट सन् १७६२ मा गोर्खालीले मकवानपूर राज्य कब्जा गरे । मकवानपुर राज्यको भू-भागअन्तर्गत मधेससहितको मैदानी क्षेत्र पनि पर्थ्यो । त्यतिबेला वर्तमान नेपालको अधिकांश तराई-मधेस क्षेत्रमाथि मुगल बादशाहको वैधानिक अधिकार मानिन्थ्यो । मालपोत उठाउने र बादशाहलाई निश्चित रकम बुझाउने गरी सेन राजाले मध्य-तराईको जागिर पनि पाएका थिए । सन् १६६४ मा औरंगजेबको पालादेखि सेन राजाले पर्सादेखि धनुषासम्मको भागको लागि रु १२,००० वार्षिक राजस्व मुगल नवाबलाई बुझाउने गर्थे । गोर्खालीले मकवानपुर कब्जा गरे पनि मैदानी इलाका हासिल गर्न अंग्रेज सरकारलाई रिझाउने उपाय मात्रै थियो ।
अवधका नवाबसँग सेनहरूको सयौं वर्ष पुरानो सम्बन्ध भएकोले नवाबलाई राजी गराउन सहज थिएन । साथै, २० जनवरी सन् १७६३ मा बंगालका सुबेदार मीर कासिमले गोर्खालीमाथि मकवानपुरमा आक्रमण गरेका थिए । एक कथनअनुसार गुरगीन खाँले नेपालको तराई क्षेत्रमा सन्यासी र फकिरहरूसँग सम्बन्ध बनाएर मीर कासीमको सल्लाहमा मकवानपुरमा आक्रमण गरेका थिए । नेपालमा लुटपाट गर्ने उद्देश्यले आक्रमणको भएको थियो । तथापि यो घटना मीर कासिमको सन् १७६२ देखि चलेको अंग्रेजहरूसँगको विवाद र द्वन्द्वको बेलामा भएको देखिनाले पृथ्वीनारायण शाहले स्थानीय अंग्रेज हाकिमहरूसँंग सम्बन्ध बढाइरहेको अवस्था थियो भन्ने अनुमान हुन्छ । मकवानपुर आक्रमणको ५ महिनापछि मीर कासिमलाई सन् १७६३ जुलाईमा अंग्रजेले पदच्यूत गरेका थिए ।
बंगालका गभर्नर जोन कर्टियरले (सन् १७६९–सन् १७७२) गोर्खालीले मकवानपुर कब्जा गरेपछि तौतर प्रगन्नाको ‘पेशकश’ कसले तिर्दै आएको छ, र त्यो रकम कति र कुन रूपमा टुंगो लागेको थियो, यी सबै विवरण पठाउन पटना काउन्सिलका हाकिमलाई आदेश दिए । ३० जुलाई १७७१ मा पटना काउन्सिलका हाकिमले सबै विवरण साथ लेखेको पत्र यस्तो थियो- गोर्खाका राजा पृथ्वीनारायण शाहले यस वर्ष पाँच वटा हात्ती बुझाउन पठाएका थिए, र गत वर्षको बक्यौता रु १५,०००/- पनि नगदै बुझाए । यस अवस्थामा उनले आजसम्म नियमविरुद्ध काम गरेका छन् भन्ने शिकायत गर्ने कुनै कारण देखिएको छैन ।
यो व्यहोराको पत्रबाट, सेन राजाले विभिन्न बहानामा कर छल्ने र नवाबको अवैध क्षेत्रमा घुसपैठ गरेको देख्दै आएका ब्रिटिस हाकिमहरूले, पृथ्वीनारायण शाह अंग्रेजप्रति बफादार, ईमानदार र सहयोगी रहेको महसुस गरेको प्रस्ट बुझ्न सकिन्छ । त्यसपछि सन् १७७१, अगस्त १० मा पृथ्वीनारायण शाहले प्रतिवर्ष मालगुजारी बुझाउँदै रहेसम्म र उनले कम्पनीका प्रदेशमा घुसपैठ नगरुन्जेलका लागि सैनिक कारबाही नगर्ने निर्णयमा कम्पनी पुग्यो र यसको सूचना पटना राजस्व काउन्सिललाई पनि दिइयो ।
त्यसपछिको घटनामा मोरंग, सप्तरी आदि कब्जा गरेपछि पृथ्वीनारायण शाहले वैधानिक अधिकारको लागि सनद गरेर पठाइदिन ब्रिटिस गभर्नरलाई पत्र पठाएको प्रमाण भेटिन्छ । वारेन ह्यास्टिङलाई १३ अक्टोबर १७७४ मा लेखेको पत्रको व्यहोरा यस्तो थियो- विजयपुर (मोरंग), अम्बपुर (सप्तरी) पहिले सेन राजाको अधिकारमा थियो, अहिले मेरो अधिकार भएको छ । अर्जीका साथ म आफ्नो वकिल पठाउँदै छु । यस प्रदेशमा मेरो अधिकार विषयमा सनद गरेर सहीछाप गरिदिनुहुन तपाईंसित अनुरोध गर्दछु । तर, २८ नोभेम्बर, १७७४ मा वारेन ह्यास्टिङले पठाएको जवाफ नकारात्मक थियो- ती दुवै प्रदेश पहिलेदेखि नै बंगाल प्रान्तका भाग हुन् । त्यसैले ती प्रदेशमा आफ्नो अधिकारको दाबा छोडी फौज हटाउनु होला भन्ने आशा गर्दछु ।
ह्यास्टिङको जवाफ आएपछि पृथ्वीनारायण शाहले फेरि ब्रिटिस गभर्नरलाई आफू अंग्रेजविरोधी नभएको र राज्य-विस्तार उनीहरूलाई हानी पुर्याउने उद्देश्यले गरेको होइन भन्ने आश्वस्त पार्न यस्तो लेखेर पठाए- मकवानपुर आदिका विषयमा मैले मालवाजवी (मालगुजारी/कर) तपाईंलाई जसरी बुझाउँदै आएको छु, त्यसैगरी विजयपुरको विषयमा पनि जति बुझाउनु पर्ने निर्णय गर्नुहुन्छ उति बुझाउने छु । यसमा कम्पनीलाई केही हानी छैन । मेरो शत्रुहरूले मेरो विरुद्ध सुनाएको चुक्लीको आधारमा मेरो विषयमा गलत धारणा बनाउनु हुनेछैन भन्ने मैलेआशा लिएको छु ।
पृथ्वीनारायण शाहले अंग्रेजसँग द्वन्द्वमा नगई कम्पनी सरकारको साथ र समर्थनमा राज्य गरेको देखिन्छ । राज्य-विस्तार र राज्यलाई बलियो बनाउन मधेसको मैदानी भूमि अत्यन्त महत्त्वपूर्ण थियो । मधेस भू-भाग भएको कारणले बलियो सेन राज्य २५० वर्षदेखि एकछत्र टिकिरहेको थियो । सेन राजाको बारेमा लेख्नेहरूले हरिहर सेनको दक्षिणी सिमाना गंगासम्म थियो भन्ने उल्लेख गरेका छन् । तथापि यतिचाहिँ भन्न सकिन्छ- सेन राज्यमा वर्तमान नेपाल र भारतको मैदानी क्षेत्रको विस्तृत भू-भाग समेटिएको थियो । ठूलो संख्यामा सेना राख्न, सैन्य कमाण्डरहरूको लागि जागिर र रसदको प्रबन्ध मिलाउन, भाडाका गैरमुलुकी सैन्य राख्न मधेसको आम्दानीबाट मात्र सम्भव हुन सक्थ्यो ।
उतिबेला पनि मधेस कति महत्त्वपूर्ण मानिन्थ्यो भने ऐतिहासिक स्रोतहरूका अनुसार सुगौली सन्धिको बेला गोर्खालीहरू काली पारिका सारा भू-भाग छोड्न तयार थिए । तर, तराई मधेश छोड्न तयार भएनन् । चौतरीया बम शाहलाई उद्धृत गर्दै लेखिएको कथनअनुसार मैदानी भू-भाग छोडेर पहाडी भूगोल मात्र राख्दा नेपालको कुनै अस्तित्व रहँदैन भन्दै तराई समर्पण गर्नुभन्दा बरु गोर्खालीहरू फेरि युद्ध गर्न तम्सिएका थिए । र, यो पटक अंग्रेजप्रति सहानुभूति राख्ने भारदारहरू पनि एकजुट भई लड्ने तरखर गरेका थिए । अंग्रेज पक्षका अनुसार तराईप्रतिको गोर्खालीहरूको यही भावनाको कदर गर्दै र तराईको जमिनमा निर्भर गोर्खाली सरदारहरूको लागि जीवन-यापनमा कठिनाइ हुने देखेपछि नयाँ मुलुक छोडेर सबै मैदानी भू-भाग फिर्ता गरियो ।
अर्कोतर्फ चुक्ली लगाउने प्रवृत्तिले नेपालको राजनीतिमा बाहिरी प्रभावको माध्यमबाट पात्रहरू स्थापित हुने वा समाप्त हुने घटना मध्यकालदेखि चलिआएको परम्पराको निरन्तरता हो भन्ने प्रमाणित गर्छ । ब्रिटिसहरूले पनि पृथ्वीनारायणविरूद्ध चुक्ली लगाउनेलाई महत्त्व दिएनन् र उनको विरूद्ध विरोधीहरूले हालेका मुद्दालाई पनि खारेज गरिदिए । यसरी पर्सादेखि टिस्टासम्मको भूमि पृथ्वीनारायणले कम्पनी सरकारको साथ र समर्थनमा पाएका थिए ।
पृथ्वीनारायण शाह क्रूर र तानाशाही राजाको प्रतीक बनेका ऐतिहासिक व्यक्तित्व हुन् । क्रूरताको चरम उदाहरणमा जयप्रकाश मल्लका जनरल जयन्त रानामगरलाई पुत्रशोकको किरियामा बसेको अवस्थामा घरबाटै समातेर नुवाकोट दरबारमा ल्याई आफैंले जिउँदै छाला काढेर हत्या गरेको घटनालाई लिन सकिन्छ । त्यस्तै मकवानपुरका मधेसी सैनिकलाई जुत्ता नलगाई सलाम गरेको दोषमा हत्या गरेको घटना र गोर्खालीको जितपछि कीर्तिपुरका जनताको नाक-कान काटेको प्रसंग पनि उनको क्रुरताको उदाहरण हो । इतिहासकारहरूको एउटा तप्का उनले गरेको काल्पनिक ‘एकीकरण’ सँग नतमस्तक बनेर उनले गरेका क्रूर अत्याचारको पनि बचाऊ गरिरहेका भेटिन्छन् । तर उनको उदय तत्कालीन साम्राज्यवादी शक्तिहरूले लिएको रणनीति र उनको समर्पणको परिणाम मात्र हो । पृथ्वीनारायणले अंग्रेज रिझाउन लिएको नीति र घटनाक्रमहरुबाट नै यो कुरा प्रष्ट हुन्छ ।
पृथ्वीनारायण शाहको उदय तथा गोर्खा सिमा विस्तारको सफलतालाई बंगाल-बिहारमा जरा फैलाउँदै गरेको इष्ट–इण्डीया कम्पनीको रणनीति, राजनीति र उसको व्यापारिक स्वार्थको आलोकमा हेरिनुपर्दछ । पृथ्वीनारायण शाह अंग्रेजलाई चाहिएको सहयोग दिन तत्पर बने र आफूलाई अंग्रेजबाट आवश्यक पर्ने सहयोग लिन पनि उनी सफल बने। अहिलेको समयमा त अर्को ५ वर्षमा कुन पार्टीको बहुमत आउँछ भन्ने अड्कल काट्न सकिन्न भने तत्कालीन समयमा भर्खर बंगालमा स्थापित हुँदै गरेका अंग्रेजहरूले भविष्यमा सम्पूर्ण भारतमाथि कब्जा गरी नेपालको डाँडाकाँडामा समेत प्रवेश गर्नेछन् भन्ने पृथ्वीनारायण वा अन्य कसैले उतिबेला कल्पना गर्न सक्ने अवस्था थियो भन्नु फजुल तर्क वा प्रोपोगाण्डा मात्र हो ।
पृथ्वीनारायण शाहको उदय एउटा सत्ताको परिवर्तन मात्र हो । गोर्खाली सत्ताको स्थापना भनेको नेवा, मैथिली, किराँत, लिम्बुवान सत्ता वा सभ्यताको अवसान पनि थियो, जुन सयौँ वर्षदेखि नेपालको धर्तीमा टिकिरहेका थिए । त्यसैले कुनै सभ्यताको अवसानमा हामीले उत्सव मनाउनु उचित पनि हुँदैन ।
नेपालको राजनीतिक इतिहासमा कैयाैँ मोडहरू आएका थिए । कुन मोडबाट मोडिँदा कहाँ पुगिन्थ्यो अन्दाज लगाउने विषय मात्र हो । यस्तै एउटा मोडमा वि.सं. २००७ सालमा शाह वंशको पुर्नस्थापना भएको हो । यदि इतिहास यतातिर नमोडिएर अन्तै कतै लागेको भए सायद पृथ्वीनारायण शाह पनि अन्य राजा–महाराजाहरूजस्तै पुस्तकको कुनै पानामा थोरै अक्षरमा सीमित हुन्थे ।

सन्दर्भ सामग्री
आनन्द मठ (सन् १८८२),बंकिमचन्द्र चटोपाध्याय

श्री ५ बडा महाराजधिराजको जीवनी (वि.सं. २०२७),बाबुराम आचार्य

नेपालको ऐतिहासिक रूपरेखा (वि.सं. २००८),बालचन्द्र शर्मा

सेन राजाहरूको ऐतिहासिक परिचर्चा र पुर्वी पहाडका केही ब्रम्हण बंश, कुलचन्द्र कोइराला

सुगैली सन्धि, वि.सं.१८१६

मीर कासिम (सन् १९८४), हरिहर नाथ शास्त्री

हिमालयन गजेटियर (सन् १८८२), एटकिनसन

Sannysasi Fakir Rebellion, 1770-1800 : A study in overt form of Rebellion -- Amrita Sengupta, Phd. Jadavpur University.

Bhattacherje, S. B. (2009). Encyclopaedia of Indian Events & Dates

No comments:

Post a Comment