– यादव देवकोटा
“एउटा मात्रै रेखा कोर्नलाई पूरै जीवन लगाउँदिन‘ भन्न पाउने अधिकार लेखकको रहन्छ भने पङ्क्तिकारलाई पाठकहरूबाट त्यही अधिकार चाहिएको हो ।”
पाठकहरूबीच आइपुगेको पुस्तक ‘असङ्गति’मा लेखक सौरभले लेखेको पङ्क्ति हुन् यी । अर्थात् हतारो छ सौरभलाई अनेकन् रेखा कोर्न । लेखनकै बलबाट समाजलाई एकसाथ समर्थन र विरोधमा ध्रवीकृत गर्न सक्ने लेखकीय आँट भएका सौरभको हतारो मनासिबै पनि छ । उनलाई भन्दा बढी हतारो भएका उनका पाठकहरू छन्, जसलाई घोत्लिनु छ सौरभका नयाँ–नयाँ शब्दरेखाहरूमा । थप रेखा कोर्न जीवनको समय लगाउन चाहने सौरभ र उनका नयाँ शब्दरेखामा हराउन चाहने पाठक (आलोचकहरूसमेत) बीच अहिलेलाई एउटा सङ्गति उपलब्ध छ– ‘असङ्गति’ अर्थात् ‘असहमति’ भाग दुई ।
०००
आधुनिक नेपालको इतिहासमा चर्को बहसको केन्द्रमा परेको एउटा दुर्ग छ– गोर्खा–माझकोट । जहॉ छ– गोर्खा दरबार । गोरखा कालिका । त्यही गोरखा कालिकाको दरबारको सँधियार पिँढीमा अलपत्र परिबसेका छन्, दुई थान नगरा ।
काम दिएका थिए नै ती नगराहरूले त्यसबखत– सूचनाको– टाढा–टाढाका दुर्गमा बसेर थप दुर्ग हान्ने, मोर्चा ठोक्ने तयारीमा बसेका सिपाहीहरूलाई । रणमा भिडिरहेको फौजलाई । गोर्खाली नगरा बाजाको आवाजलाई लिएर उत्निखेरको गीतै थियो यस्तो–
ड्वाङ ड्वाङ र डुङ् डुङ् डरलाग्दो बाजा ।
राति राति हिँड्ने गोर्खाली राजा ।।
राति राति हिँड्ने गोर्खाली राजा ।।
लडाइँमा, दुःखमा, आपत्मा, खुसीमा, पर्वमा, शुभमा, अशुभमा सूचना दिने तिनै नगराहरू मेरो क्यामेराको फ्रेमभित्र परेका थिए– ०७२ को भूकम्पलगत्तै– ढुंगा, काठ र माटोले पुरिनै लागेको अवस्थामा । तलबितलको सूचना दिने नगराहरू आफैंमा तलबितलमा परेको दुर्गमा अलपत्र थिए ।
चिराचिरा परेका अनेकन् राज्यलाई फैलिँदै, बढ्दै, विस्तारित हुँदै आफ्नो फैलावटको एउटै आकारमा अटाएको त्यो चिसो पाखोको तत्कालीन निम्छरो गोर्खा दरबारलाई त्यही दिन देखेको थिएँ– चिराचिरा भएर नगराको भार पनि नथामँुलाझैं भएको । हुन पनि चिराचिरा भएर मक्किएको दुर्गलाई के काम नगराको ? त्यसले दिने सूचनाको सन्देश जतिसुकै शक्तिशाली भए पनि । जति बलियो आवाज निस्किए पनि । त्यसैले त्यो नगरा अलपत्र पर्नु मनासिब छ, कम्तिमा आजको दिनमा ।
केही जोर वर्षअघि पढेको थिएँ– त्यही दुर्गबाट आएको समाचार, तलब खुवाउन नसकेपछि गोर्खा दरबारमा रहेका परम्परागत वाद्यवादकहरू अलपत्र । र, एउटै कर्मचारीले बीसौं अर्बभन्दा बढी भ्रष्टाचार गरेर राज्यकोषमा चाँदीकटाइ गर्न सक्ने पैसा भएको देश पनि हाम्रै हो, पढिएकै छ ।
यति लेखेपछि पुगिहाल्ला– जतिसुकै सुन्दर कामना, आग्रहसहित लेखे पनि– असङ्गतिको ध्वनिको सङ्गतिलाई मानिसहरूले समाउनै पर्ने केही जरुरी छैन । कम्तिमा आजको दिनमा । नेपाली समाजका लागि जति उपयोगी भए पनि आज जसरी अलपत्र छन् नगराहरू, नगरा बजाउनेहरू, उसैगरी जति उपयोगी भए पनि, उसैगरी अलपत्र परिरहेछन् अनेकन् उपयोगी, विचार, नीति र योजनाहरू । ‘असङ्गति’ले त्यो नियति नभोगोस्, अहिलेलाई कामना ।
०००
‘असङ्गति’ नेपाली समाजको दैनिकी, व्यवहार, लय, गति, चिन्तन, जिज्ञासा, चरित्र, प्रवृत्तिमाथि सौरभको असहमति हो । र, हो– परम्परा, संस्कृति, सम्पदा, सीप, शैली र इतिहासप्रतिको फरक धारको चिन्तन । पछिल्लो समय विकसित भइरहेका घटनाक्रम र परिस्थितिले सौरभको बुझाइमा उठाएका सुम्लोको बौद्धिक प्रतिवाद हो । प्रस्तुत भएका विचारहरूमा पाठकहरूको सहमति, असहमति दोस्रो कुरा हो । प्रयोग गरिएका तथ्यहरूको सङ्गति, असङ्गति बेग्लै कुरा हो ।
पुस्तकको भूमिकामा अनेकन् रेखा कोर्ने समय खोजेका लेखकले पुस्तकभरि एउटै मात्रै रेखालाई प्रस्ट पार्ने सामथ्र्य लगाउन खोजेका छन्– नेपाल भव्य छ, नेपालीले बुझेनन्, त्यसैले झुर भयो । नेपाली झुर भए, त्यसैले नेपालले यो हविगत बेहोर्नु प¥यो । नेपालीले देश चिनेनन्, परम्परा बिर्सिए, इतिहास जानेनन्, त्यसैले नेपाल दुब्लाउँदै गयो भनेर एकधर्से चिन्ताको रेखा कोर्न खोजेको देखिन्छ ।
‘बहस’, ‘आत्मबोध’, ‘भैंचालो वरिपरि’, ‘साम्प्रदायिकतापारि’, ‘हस्तक्षेप’, ‘प्रतिवाद’, ‘नेवारहरू’, ‘फुर्सदमा’ समूहभित्र समेटेर लेखिएका एकतीस लेखहरू छन्, जसमा पराधीन स्वतन्त्र, गैर–आर्थिक दरिद्रता, परिचय खोसेको कसले, नजल्नुपथ्र्यो सुम्निमा, बरियारपुर पश्चिमा बकबास, लेभीलाई पढ्दा जस्ता उच्च बौद्धिक विमर्शहरू सामेल छन् । पराधीन स्वतन्त्र र गैर–आर्थिक दरिद्रता शीर्षकका लेखमार्फत नेपाली समाजले वर्तमानमा भिरेर बसेको कुरूप तस्बिरको फ्रेम भत्काउन सौरभले जोडदार विमर्शका लागि प्रयत्न गरेका छन् । तटस्थ पाठकहरूको समेत चेतनालाई भित्रैबाट हल्लाइदिन सक्ने र नयाँ जिज्ञासाका लागि उत्प्रेरित हुन बाध्य पार्ने क्षमता राख्छन् यी लेखहरूले ।
बाँकी लेखहरूले सौरभलाई नियमित पढिरहेका पाठकहरूलाई विस्मित तुल्याउने खतरा छ । सौरभका ‘पच्चीस वर्ष’ र ‘असहमति’ पढेका पाठकहरू ‘असङ्गति’ पढिसकेर सौरभको लेखनीको ओज देशको ओजझैं चमकहीन हुन थालेको निष्कर्षमा पुगे भने अन्यथा हुनेछैन ।
जम्माजम्मी यत्ति लेखेर टुङ्ग्याउन सकिन्थ्यो, ‘असङ्गति’माथिको टिप्पणी । तर, अलिकति बढाउनु परेको छ थप केही मन्थन । थप्नु परेको छ अलिकति असहमति । केही थप सहमति । मिथ्याङ्कहरूको गर्नुपरेको छ मीमांसा ।
मिथ्याङ्क
“वीरकेशर पाँडे तिनै व्यक्ति हुन्, जसलाई जङ्गबहादुरले नजोगाएको भए कोतपर्वमा राजेन्द्रलक्ष्मीले गगन सिंहलाई मारेको आरोपमा कटाइदिइसकेकी थिइन् भन्दा हुन्छ ।” (पृष्ठ ७७)
गगन सिंहलाई मार्ने योजनाकार थिए नै जङ्गबहादुर । कतिपय लेख्छन्, गगन सिंहलाई जंगबहादुरले नै गोली हानेका हुन् । वीरकेशर पाँडे तिनै व्यक्ति थिए, जसलाई बरु जोगाएका थिए सुरुमा चौतरिया फत्तेजङ्ग शाह, जनरल अभिमानसिंह राना र राजेन्द्र विक्रमसमेतले– यथार्थ वस्तुस्थिति पत्ता लगाउने र त्यसपछि मात्र समुचित कारवाहीहरू गर्ने अडान राखेर । थपिरहनु परेन, कर्पदार वीरकेशर पाँडे गिँडिएका थिए कोतपर्वमा । कोतपर्व मच्चाएकै जङ्गबहादुरले । अब वीरकेशरलाई कोतपर्वमा जङ्गबहादुरले कसरी जोगाए हुन् खै ? हामीकहाँ इतिहास लेखनमा इष्टहरूको विरुदावली फलाक्ने दुःख भइआएको छ । के यो त्यस्तै अर्को दुःख हो ?
“दहचोकमा रहेका मगरहरू कीर्तिपुर विजय अभियानमा आएका मगरहरूकै सन्तान हुन् ।” (पृष्ठ १३८)
हुन् पनि र होइनन् पनि । गोरखाली दरबारकी इष्टदेवी मनकामना । चलन थियो नयाँ मोर्चा खोल्न जानुअघि इष्टदेवी मनकामनाको मन्दिरमा जेठी तरबार पूजा गर्ने । दहचोक र आसपास गोरखाली सरमा आइसकेको थियो । गोरखाको कमान्ड माझकोटबाट सरेको थियो नुवाकोटमा । दहचोकगढीमा रहेको फौज कमान्ड गरेर बसेका थिए हरिवंश उपाध्याय । लड्नु छ नेपालमण्डल र अझै पर । फौज छ नुवाकोट र दहचोकमा । जयप्रकाशले गुहार लगाए इस्ट–इन्डिया कम्पनीसँग फौजी मद्दतका लागि । अब लैजानु छ जेठी तरबार पूजा गर्न गोरखा मनकामना । टाढा प¥यो र गाह्रो भयो युद्धमा पहल लिन, तरबार कुदाउँदैमा समय जाने कारण । आदेश गएपछि हरिवंशले गोरखा मनकामना देखिने गरी दहचोकमा मनकामना मन्दिर खडा गरे । चलन छ– मनकामनामा मगर पुजारी राख्ने । ल्याइए मनकामनाबाटै मगरहरू । यसरी दहचोक मनकामनामा पुजारी भएर आएका मगरहरूकै सन्तानहरू हुन् दहचोकमा रहेका मगरहरू । भन्न मिल्छ, कीर्तिपुर विजय अभियानमा आएकाहरूका सन्तान । तर, ती कीर्तिपुर विजय गर्ने भनेर लड्न आएका मगरका सन्तान भने होइनन् नै ।
“हरिसिंहदेवको घटना ११ औं शताब्दीको हो ।” (पृष्ठ २३५)
हरिसिंहदेवका विषयमा, केही दुविधाहरू, विवादहरू छन् इतिहासमा । तर, प्रस्ट छ– उनी हुन् नै चौधौं शताब्दीका । १३८१ मा गयासुद्धिन तुगलकबाट पराजित भएपछि ध्वस्त सिम्रौनगढ छाडेर भागेका उनी दोलखातिर मरे लेख्छन् केही इतिहासकारहरू । केही लेख्छन्, आए र शासक बने भक्तपुरतिर । तर जे होस्, सौरभले उद्घाटित नयाँ तथ्य होइन प्रमाणसहित भने, “हरिसिंहदेव ११ औं हैन, १४ औं शताब्दीका हुन् ।”
पृथ्वीनारायणले चन्द्रागिरिबाट काठमाडौं उपत्यका हेरे, मृत्युघडीअघिको भनिएको पृथ्वीनारायणका अन्तिम वचन (दिव्योपदेश)मा नै त्यो कुरा उल्लेख छ । तर, शिवालयबाटै हेरे भन्ने कुनै प्रमाण छैन । हेरे पनि होलान्– सत्यदेवीको भाल (निधार) खसेको हुनाले भालेश्वर महादेवका रूपमा त्यहाँ शिवालय बनेको थियो पनि होला । तर, सुनचाँप र मयलगिरिको रुखमुनि बसेर हेरेको कुराचाहिँ शासकहरूको अति सौन्दर्यकरण या देवत्वकरणको विकृत रूप होइन भन्ने कसरी ? पहाडी पैदलबाटोमा उतिबेला बाटो छेउमा या मन्दिरछेउमा चौतारो लगाउने चलन थियो नै । पाए शमीको रुख, नपाए वरपीपलको । तर, न पृथ्वीनारायण आएर काठमाडौं उपत्यका हेर्नुपर्छ भनेर, न कालान्तरमा सौरभले किताबमा उल्लेख गर्नुपर्छ भनेर त्यहाँ कसैले सुनचाँप र मयलगिरि लगाएर राखिदियो भनेर पत्याउनु कसरी, लेखकले पर्याप्त प्रमाण नदिएसम्म ?
वास्तविकता चाहिँ चिलाउने या कटुसकै फेदमा उभिएर या बसेरै हेर्दा पनि अद्यापि काठमाडौं उपत्यका सुन्दर देखिन्छ– वरिपरिका अग्ला डाँडाबाट । पृथ्वीनारायणको पालामा, आजजस्तो कङ्क्रिटको जङ्गल बनिनसकेको काठमाडौं चन्द्रागिरिबाट चित्ताकर्षक देखियो नै, सुनचाँपको सट्टा कटुसकै फेदमा बसेर हेरेको भए पनि ।
मकवानपुर गढीमा मकवानपुर राज्यका दिवान कनकसिंह बानियाँले दिग्बन्धन सेनलाई जुत्ता फुकालेर सलाम गरेको र आफूलाई जुत्ता लगाएरै सलाम गरेको भन्दै अपमान ठानेर पृथ्वीनारायण शाहले त्यहाँ झगडा गरे । र, बिहानै निस्किए त्यहाँबाट, माघको झरीमा, घुम ओढेर, बख्खु लगाएर, अरूले नचिन्ने बनेर र बसे चित्लाङमा । त्यहाँबाट पनि सखारै हिँडेर बिहान घामले काठमाडौंका गजुरहरू चुमेको बखत, चन्द्रागिरिबाट हेरे मनमोहक काठमाडौं, टल्किएका मन्दिरका गजुर र मनोरम काठमाडौंका फाँट– घाम डुब्नुअघि हैन । त्यही काठमाडौं हेरेपछि चन्द्रागिरिबाट उनी दिनभर र मध्यरातसम्म हिँडेर बास थाम्न पुगे मैदीकोटमा, जहाँ थियो गोरखाको किल्ला । इतिहासकारहरू लेख्छन्– त्यहीँ भएको थियो उनको उपनयन पनि ।
विवाहपछि मात्रै उनले काठमाडौं हेरे, यो पनि विवादित छ । राजा महेन्द्रले विद्वान थापेर प्रज्ञाप्रतिष्ठानको उपल्लो जागिरे बनाएका, दरबारको भाष्य आँकेर इतिहास लेखेका भनिने गरेका पात्र सूर्यविक्रम ज्ञवालीले लेखेकै छन्– १७९० मा भादगाउँ गएको र १७९५ मा विवाह भएको (पृथ्वीनारायण शाह, पृष्ठ ४७) । यो कुरा मिल्छ पनि । पहिलो बिहेपछि लगातार तीन वर्ष उपत्यकामा बसेको देखिँदैन । किनकि १९९७ मा उनको दोस्रो बिहे भएको छ । भादगाउँ जाँदा उनले मित लगाएका छन्, काठमाडौंका जयप्रकाश मल्लसँग समेत भनेर लेख्छन् इतिहासकारहरू । उनको विवाह हुँदाताका जयप्रकाश राजा भइसकेका छन् । राजाले युवराजसँग मित लगाउने कुरै भएन, इज्जतको भाउ खोजिने जमानामा । यसले थप जिज्ञासाहरू उठाउँछ नै र थप बहसहरूको माग गर्छ बिनाआग्रह, पूर्वाग्रह ।
असङ्गति
थिए रे नै लौ पुण्यविक्रम राणा, पहिलो रियल स्टेट व्यापारी । जमिनको लालपूर्जा नभएकै कारण भैंचालोले भत्किएको छाप्रो बनाउन राज्यले दिने राहत रकम पाउन नसकेकी गोर्खा पन्द्रुङ्गकी सेती तामाङको मनमा त्यसले कसरी बढाउला नेपाली स्वाभिमान ?
थिए रे नै लौ सुरेन्द्रविक्रम शाह, चश्मा लगाउने पहिलो नेपाली । च्यातिएको गुन्यु गाँठो पार्दापार्दै गाँठो पर्ने र सिएर टाल्ने ठाउँ नै बाँकी नरहेपछि च्यातिएको गुन्युझैं गाँठो परेकी झिरमाया विश्वकर्माको मनमा त्यसले कसरी बढाउला देशको स्वाभिमान ?
थिए रे नै लौ पासाङ काम्बाछे, वाइन प्रविधि भित्र्याउने पहिलो नेपाली । त्यो जानेर कसरी बढ्ला डेढ घण्टा बढी धाएर गाग्रोमा पानी बोक्ने हाम्रा दिदीबहिनीहरूको मनमा राष्ट्रिय स्वाभिमान ?
इत्यादि ।
असहमति
१. “गरिबीमा लेखिन्छ साहित्य भन्ने ठूलो भ्रम खोइ कताबाट थोपरिएको छ, रचनाकारहरूको टाउकोमाथि ? यो मनोरोग हो । सम्पन्नताको खुला आकाशले घोत्लिने समय दिन्छ किनभने पढेर मात्रै लेखिने कुरा होइन साहित्य ।” (पृष्ठ १४६)
दूरदराजका झुत्रेझाम्रेका छोराछोरीहरू, ठेलागाडामा पसिना लगानी गरेर जीवन चलाएका सङ्घर्षशील मानिसका सन्तानहरू साहित्यमा आएको, तिनीहरूले लेखेको, लेखनमा जबर्जस्त हस्तक्षेप गरेको, नयाँ बहस सिर्जना गरेको सौरभलाई मन परेको छैन । त्यसले उनीभित्र एउटा जबर्जस्त आक्रोश पैदा गरिदिएजस्तो छ । उनले लेखेका छन् थप– २०६३ पछि आफ्नो विगत र वर्तमानको दुःखालाप गाएर ठूलो सर्जक दरिने होडबाजी चलेको जस्तो देखिन्छ । थप उदाहरण दिएका छन् थुप्रै लेखकहरूको । ती सम्पन्न थिए, त्यसैले तिनले लेख्न सके, राम्रो लेख्न सके, गरिब भएको भए के लेख्दा हुन् र नै भने जसरी ।
जो जन्मिँदै चाँदीको थालमा खाने गरी जन्मिएका हुँदैनन्, तिनले लेख्ने कोसिस गर्नु भनेको भ्रम हो भन्ने सौरभ तर्क किन पनि खण्डित हुन्छ भने दुनियाँभर यदि त्यसो हुँदो हो त लेखनकर्म धनाढ्यहरूका सन्तान र दरसन्तानहरूको कपीराइट बनिसक्थ्यो या त अर्बपति या तिनका सन्तानहरूले मात्रै लेखन र सिर्जनाको जमिनको लालपुर्जा लिइसकेका हुन्थे । आर्थिक सबलताले लेखकलाई लेखनमा एकाग्र भएर लाग्न बल दिन्छ भन्ने कुरा साँचो हो तर आर्थिक सम्पन्नता नहुँदैमा कसैले लेख्न सक्दैन या गरिबीमा रहेका मानिसले लेख्न सक्छ भन्नु भ्रम हो भन्ने कुरा सामन्तवादी, पूँजीवादी बजारवादको प्रकटीकरणबाहेक अरू केही होइन ।
२. “जनता नै लुटेरा छ जुन देशमा, के त्यसले नेता हुनेलाई नै सत्तोसराप गरिरहन मिल्छ ?” (पृष्ठ ८)
“लुटेरा मतदाताले जिताउने भनेको डाँका सरदारलाई हो ।” (पृष्ठ ९)
“खानी विभागको पोख्त प्राविधिज्ञले बहुमूल्य धातु र पत्थरको माफिया व्यापार चलाइरहेको छैन ? पुरातत्त्वको पोख्त विज्ञले बहुमूल्य प्राचीन वस्तुहरूको बजार तेस्र्याइरहेको छैन ?” (पृष्ठ ८)
“.....गिरिजा र पुष्पकमल दर्जाका सडकछापहरूबाट सम्पन्नता र राष्ट्रिय स्वाभिमानको खोजी गरिरहने हो भने हरेक राणा र तिनको महपुर्खा जङ्गबहादुर नै ठीक भन्ने आशय मात्र हो ।....” (पृष्ठ ९)
“अब साँच्चैका हवल्दार वामदेव प्रधानमन्त्री हुने लाइनमा छन्, सन् २०१८ को मध्यतिर ।” (पृष्ठ ३९)
“चासोका दुई वर्ग छन्– माथिल्लो गैरव्यक्तिगत र तल्लो व्यक्तिगत । तल्लोमा साहित्यिक र मनोवैज्ञानिक या ‘हार्ड पलिटिक्स’ हेर्न जिम्मा लगाइएका गुप्तचरले रुचि राख्छन् ।” (पृष्ठ १६)
अनुशासन, लय, नीति, नैतिकताबाट पर भाग्दै जान थालेको नेपाली समाजले स्वाभाविक अभ्यासजस्तो गरी अपनाउन थालेका विसङ्गतिहरूप्रति जोडदार असहमतिहरू छन् ‘असङ्गति’मा सौरभका । जसमा उनले जोडदार रूपमा वकालत गरेका छन्, चिन्ता गरेका छन्– नेपाली समाजको रेखाचित्र सङ्लो बनिदेओस्, सफा बनिदेओस्, प्रस्ट बनिदेओस् । अलिकति नै सही– बढिदेओस् आत्मसम्मान नेपालीको । बुझिदिऊन् नेपालीले– आफैंभित्र लुकेर विलुप्त हुन गएको आफ्नै छातीको चौडाइ । पौरखको पारख गरिदिऊन् । इमानको हुर्मत नलगिदिऊन् । मेटिन नदिऊन्– किरेमिरे नै सही नेपालीपनको मौलिक रेखाचित्र, जो अरूजस्तो छैन, नहराइदेओस्– अरूकै रेखाचित्रहरूको किरिङमिरिङमा मिसमास भएर ।
यो निकै सुन्दर कामना हो । एउटा उच्च बौद्धिकले समाजका लागि गर्ने सुन्दर प्रार्थना– आफ्नो विवेक र बुद्धिको प्रयोग आफ्नो बलशाली लेखनमार्फत गरेर– समाजको कुलतप्रति निर्मम हमला गर्ने र समाजलाई सही बाटो पकड्न प्रेरित गर्ने नै हुन सक्ला, जो सौरभले सकेसम्म उठान गर्न खोजेकै छन्– आफ्नो कोणबाट ‘असङ्गति’मा ।
तर, सवाल यहीँ सकिँदैन । एउटा प्राध्यापक किन बेचिरहेछ आफूलाई विदेशी सिलेबसमा ? किन कानुनी जटिलताको छिद्रमा पसेर वकिल र न्यायाधीशहरू अपराधीलाई सफाइ दिइरहेछन् ? नागरिकहरू देशबाट विदेशमा र विदेशबाट देशमा किन पठाइरहेछन् हुन्डीबाट पैसा ? डाक्टरहरू, कृषिविद्हरू, व्यापारीहरू किन चलाइरहेछन माफियातन्त्र ? किन ? किन टेबलमुनिबाट पैसा नअसुली, अझ अहिले त खुलमखुला घूस नअसुली कामै गर्दैनन् हाम्रा सरकारी अड्डामा आसीन लालफित्ताशाहीहरू ? अरू त अरू राज्यलाई कर तिर्छु भनेर जाँदा पनि किन घूस माग्छन् करअड्डाका खन्चुवा कारिन्दाहरू ?
किनभने यहाँको आर्थिक–सामाजिक राज्यव्यवस्थाको चरित्रले ।
किनभने, तपाईंको गोजीमा कति रकम छ भन्ने कुराले निर्धारण गर्छ तपाईंले कहाँ उपचार पाउने । कहाँ तपाईंको नानीले पढ्न पाउने । कस्तो तपाईंको बुढेसकाल बित्ने भन्ने । तपाईंका नानीहरूको बाल्यकाल र शिक्षादीक्षा राज्यको क्रूर सामाजिक उत्तरदायित्वविहीनता र लगामहीन लुटेरा शैक्षिक व्यापारिक गिरोहको मनोमानीमा निर्भर छ । कसैको पुस्ता दरपुस्ताले राजा, राणा, सत्ताको कविता लेखेर, तन्त्र देखाएर, स्तोत्र फलाकेर, लबेदा पुछिदिएर, चाकरी बजाएर, लुटेर, चुसेर लैनचौरमा, धोबीचौरमा, पाखेचौरमा, ज्ञानेश्वरमा या टुकुचाखोला किनारमा या अन्यत्र बक्सिसमा कति जमिन, सम्पत्ति जम्मा गरेको छ भन्ने आधारमा कसैले जन्मँदैमा कहाँ पढ्न पाउने, कस्तो जीवन व्यतीत गर्न पाउने भन्ने निर्धारण हुन्छ । त्यसले नै निर्धारण गरिदिन्छ– तपाईं काजु चपाएर, थाङ्ने ड्वाङल्वाङ्गे कमिजले जिपर फाटेको पाइन्ट छोपेर रुन्चे अनुहार बनाउँदै विदेश हिँडेको तन्नेरीलाई राष्ट्रिय स्वाभिमानको अर्ति दिने बन्ने कि बाउआमा र कलिला नानीहरूको दुःख पखाल्न आप्mनै आँसुलाई ५५ डिग्रीको तापमा मरुभूमिमा सुकाउन जाने बन्ने †
लुटेरा र चुसेरा राज्य संयन्त्र, नीति, व्यवस्थाको साङ्लोमा बाँधिएको समाजले हरघडी मानिसलाई उत्प्रेरित गरिदिन्छ लुटेरा बन्न । यहाँको पतेराजस्तो राज्य व्यवस्थाले नै भन्छ– कसरी हैन, जसरी पनि जम्मा गरेको धन तिमीसँग जति छ– त्यसैले निर्धारण गर्छ– तिम्रा नानीहरूको शिक्षादीक्षा, उपचार र तिम्रो बुढेसकाल । त्यसपछि कुनै विद्वान् या बौद्धिकका गह्रुङ्गा विर्मशहरू पनि फगत् बुद्धिविलासको निजी लालसा लागिदिन्छ भुइँमानिसहरूलाई । त्यसैले हामीले यहाँनेर जनता लुटेरा भए, फटाहा भए, त्यसैले तिनले जताततै लुट मच्चाए भनेर सुकिला हरफहरू लेखेर आफू पानीमाथिको ओभानो भएको मुतेन्यानोमा निदाउने छुट पाउँदैनौं नै । हामीले देखेकै छौं– दूरदराजमा, ग्रामीण बस्तीमा, देशको भुइँमा आप्mनो पुस्तौंपुस्ताको जीवन यहीँको माटोमा आँसु, पसिना, इमान, जमान सबै लगाएर उभिएको मानिस झन्झन् निर्धो बन्दै गइरहेको । विदेशी परिचयपत्र, कार्ड लिएर विदेशी भूमिमा उभिएर ‘आई लभ नेपाल’ लेखेको भरमा राष्ट्रवादी भइखाएको । यही देशभित्र आफूले सकेको तागत, पसिना, आँसु खर्चेर यहीँ अरूसरह स्वाभिमानको अपेक्षा गरिरहेको मानिस अराष्ट्रिय भनेर अपमानित भइरहेको ।
सवाल तपाईं कत्तिको लोकप्रिय निबन्ध लेखेर बौद्धिकता प्रदर्शन गर्न चाहनुहुन्छ भन्ने होइन । मुख्य सवाल तपाईं समस्या देखाउने हैन– समस्या किन पैदा भइरहेको छ भन्ने कुराको विमर्श गरेर समाधानको बौद्धिक मार्ग देखाउने पनि हो । हैन भने सौरभका भावी पुस्ता पनि थप बौद्धिक देखिइन फेरि पनि लेखिरहनेछन्– लुटेरा मतदाताले जिताउने भनेको डाँका सरदारलाई हो ।
भनिरहनुपरेन, आफूलाई उच्च बौद्धिक र भव्य असल प्रमाणित गर्न जनतामाथि गरिने यो स्तरको भद्दा र घृणित टिप्पणी अरू हुनै सक्दैन । यो टिप्पणी ७४ वर्षको उमेरमा पनि जिन्दगीको दःुख टाल्न एकलयले खेतीकिसानी, ज्यामी गरिरहेका मेरा बा या मेरा बाभन्दा पनि पाको या कम उमेरमा दुःखजिलो गरेर चुनावमा आफूलाई मनपरेकालाई एकथान भोट दिएका या नदिएका मानिसहरूमाथिको भद्दा अपमानबाहेक के हुन सक्छ ? आज चलेको लुटेरा व्यवस्थामा सौरभ देखाउन सक्नुहुन्छ कुनचाहिँ साधु उम्मेदवार बनेको छ चुनावमा ? कुनचाहिँ लोककल्याणकारी सदाचारी उठेको छ चुनावमा मत माग्न ? मानिसहरूसँग केवल विकल्प छ, एउटा चोरको सट्टा अर्को उस्तै चोरलाई रोज्ने । दूर भूगोलका जनता त त्यत्ति पनि जान्दैनन्– कुन चोर हो र कुन महाचोर हो । किनभने, यहाँ अवसर नपाउन्जेल हरेक मान्छे सबैभन्दा इमानदार देखिन्छ ।
देशको ढुकुटीमा प्वाल पारेर अर्बौं राजस्वमा ब्रह्मलुट गरेको भनिएको पात्र प्रहरी भ्यानभित्रबाट बहादुर योद्धाझैं मुस्कान छर्दै अदालत लागेको तस्बिर छापामा आएको धेरै दिन भएको छैन । उसले कसरी सकिरहेछ यत्रो राष्ट्रिय, नागरिक, सामाजिक, नैतिक अभियोगविरुद्ध उन्मत्त हाँसो वाक्न ? किनभने उसलाई पुरस्कृत गर्नेहरू, पछाडि धाप दिनेहरू, त्यस्ता पात्रहरूलाई लुटको विशाल तालमा बत्तिन डुङ्गा र त्यसको बहाना मिलाइदिनेहरू संसारका उत्कृष्ट अर्थमन्त्री हुन्छन् । प्रखर लोकतन्त्रवादी भैखान्छन् । जनताबाट फेरिफेरि जितको माला पहिरिइरहन्छन् ? किन ? केवल जनता लुटेरा भएकाले ?
केही दिनमात्रै भएको छ, जतिबेला पढेर मात्रै सकेको छु– श्रीमतीको ‘हाइ ब्लड प्रेसर’ जाँच गराउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बैंकक प्रस्थान । ठीक त्यहीबेला एकजना रोल्पाली साथी सुदर्शन मंगोलले फोन गरेर भन्छन्, “रोल्पा खुंग्रीका १७ वर्षीय बन्धन थापा सिभिल अस्पतालमा क्यान्सरको उपचार गराउने रकम नपाएर अलपत्र छन् । दैनिक उपचार खर्च थेग्न नसकेर उनका अभिभावक उपचारै गराउन नसकी छोरालाई अस्पतालबाट घर लैजाँदैछन् ।”
ठीक त्यहीबेला, जतिबेला एक टेलिभिजन पत्रकारले सामाजिक सञ्जालमा दाहाल परिवार बैंककमा डुली रमाएको तस्बिर राखेर व्यंग्य लेखेका छन्, “थाइल्यान्डमा जारी स्वास्थ्य उपचार ।” त्यही हेरिरहेको बेला सुनिरहेछु फोनमा– अस्पतालमा नियमित डाक्टरको निगरानीमा राख्नुपर्ने बन्धन थापा पैसा नभएकै कारण डेरामा फर्किएको । राति च्यापेपछि अस्पताल पु¥याउँदा मृत घोषणा भएको । एउटा रोल्पाली उपचार गर्ने खर्च नपाएर मर्छ । अर्काे एक जना रोल्पालीहरूले लडेर, मरेर नेता बनाएको पात्र ब्लडप्रेसर (?) जँचाउन थाइल्यान्ड जान्छ । के रोल्पालीहरू लुटेरा भएर ती पात्रलाई नेता बनाएका हुन् ? या मत पनि दिएका हुन् ? के यी फगत् जिज्ञासाहरू मात्रै हुन् ?
फेरि पनि सवाल कसलाई भोट दिने भन्ने होइन होला । टाउको गन्ने– कस्तो र कत्रो टाउको हैन, जम्माजम्मी टाउको गन्ने, किन्ने र बेच्ने लुटेरा र डाँकाहरूको सरदारीतन्त्रमा, व्यवस्थामा तपाईं भुइँका मानिसहरूमाथि प्रश्न गरेर, तिनलाई अपमानित गरेर चोखो बन्न सक्नुहुन्न । यो व्यवस्था रहेसम्म यस्तो भइरहन्छ । त्यसको सबैभन्दा गतिलो उदाहरण या सौरभ चिन्ताको केन्द्रमा रहेको खानी, पुरातत्त्वको व्यापार चलाउन नसकिने अवस्था रहेको, जागिरमा ठगठाग गर्न नसकिने प्रणाली रहेको, पर्ती या ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता नगर्नेहरूको, चेतनशील भनिएका अमेरिकीहरूको टाउकोमा बज्रिएका ट्रम्पलाई हेरे हुन्छ । यो व्यवस्थाबाट तपाईंले पाउने अन्तिम नतिजा यही हो– अर्को डाँका । चिन्तै गर्ने हो भने टाउको गन्ने लुटेरा व्यवस्थामाथि पो आक्रमण गर्नुपर्ने पो हो कि ? तर, यसको विकल्प दाम्लोमा बाँधिएर परिक्रमा गर्नका लागि स्थापित हुने कुनै पनि किसिमका सामन्तवादी स्वरूपहरू भने हुनै सक्दैनन् ।
०००
अन्त्यमा फेरि पनि प्रसङ्ग माझकोटकै अलपत्र नगराहरूको । भैंचालोमा परी ती अलपत्र थिए, लेखिसकियो । जनता आफ्नै घर भत्किएर, बास निख्रिएर अलपत्र थिए, छन्– कसरी गरून् नगराको चिन्ता ? अलिपछि त चिउरा, चाउचाउ र चामलको राहत नामको मगन्ते धन्दाले तिनले अलपत्र बासको पनि चिन्ता बिर्सिदिए । अथवा भनौं, चिन्ता गर्ने समय पाएनन्, मेसो पाएनन् ।
उस्तै त छ, मानिसका अनगिन्ती दुःखहरू छन् जीवनका, तिनले के भ्याऊन् ‘असङ्गति’मा सौरभले उठाएका सूचना, ज्ञान, इतिहास, संस्कृति, परम्परा, विमर्शहरूमा लाग्ने समय, मेसो र मौका । तिनलाई हुत्याएको छ अन्तै । जसरी भत्किएका आफ्नै बासको चिन्ताले बेसरोकार बनायो नगराहरूसित, राहतका भिखे खेलाले हुत्यायो, बासको चिन्ताबाट निकै समय, निकै टाढा ।
अस्तु ।
No comments:
Post a Comment