काठमाडौँ - भूमिसुधार लागू भएपछि नेपालमा किपट प्रथाको अन्त्य भयो । त्यसअघि नेपालमा विभिन्न जातिले किपट पाएका थिए । तीमध्ये लिम्बुहरूले अन्तिम समयसम्म आफूहरूको किपटलाई नवीकरण गरिरहेका थिए ।
२०१७ साल चैत २७ गते आइतबार हाल: धनकुटाको चौबिस मिक्लुङका सुब्बा प्रेमबहादुर मावोहाङले तत्कालीन राजा महेन्द्रबाट एउटा पत्र पाए । त्यो पत्रमा ‘नेपाल अधिराज्य पल्लो किरातका लिम्बू किपटीया गैर के यथोचित... उल्लेख भएबाट राज्यबाट लिम्बुहरूले किपट नवीकरण गरी पाएका थिए भन्ने बुझिन्छ ।
पहिले हस्तलिखितका रूपमा पाएको र पछि छापाखानामा छपाएर प्रेमबहादुरले आफ्नो सुवांगी छाप लगाएर कतै कतै बाँडेको यो पत्र यो लेखकले आफ्नो बुवा कप्तान आसबहादुर यक्सो लिम्बुबाट सुरक्षित राखिएको अवस्थामा फेला पारेको छ ।
किपट खोसिएपछि त्यसलाई फर्काउन कतिपय अगुवा लिम्बु सुब्बाहरू जुर्मुराए । २०२५ साल कात्तिक १७ गते धरान, विजयपुरमा लिम्बु अगुवाहरुको भेला सम्पन्न भयो । भेलाले मङ्सिर १७ र १८ गते तेह्रथुमको म्याङलुङमा आमसभा गरी तत्कालीन राजा समक्ष ‘किपट क्षेत्रका जनताको आमसभा गरी गत बाह्रौँ राष्ट्रिय पञ्चायतले पारित गरेको ऐन संशोधन २०२५ ले किपट राजीनामा हुने व्यवस्था हुँदा गरिब किपटीयामा बाधा विरोध परी पाउमा जाहेर गरेको छु’ भनी लिम्बुवान प्रतिनिधि मण्डलका सभापति शम्शेरबहादुर तुम्बाहाम्फेको नेतृत्वमा तत्कालीन राजासमक्ष २०२५ साल मङ्सिर २० गते बिहीबार चढाइएको पत्र भगिराज इङ्नाम र शेरबहादुर इङ्नामको पुस्तक “तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा” (२०७०:२८१–२८२) मा पढ्न पाइन्छ । यसबाट पनि लिम्बुहरूमा आफ्नो किपटप्रतिको आशा, आस्था र आकर्षण कायमै रहेको भन्ने सहजै बुझ्न सकिन्छ । भूमिसुधार लागू भएपछि लिम्बूवानका जग्गाहरूको नापी सिध्याउन २०५२ सालसम्म लागेको थियो ।
किपट अर्थात् जग्गासम्बन्धी अधिकारका विषयमा लिम्बुहरूसँग भएको इतिहासको लहरा लामो छ । अन्य ठाउँमा राज्यबाट किपटप्रथा मास्दै गइए तापनि लिम्बूवानमा पछिसम्म किपटप्रथा कायम रहनुमा ऐतिहासिक कारण छन् ।
लिम्बूमा विभाजन
अहिलेसम्म लिम्बुहरूले पाएको लिखतमध्ये सेन राजाहरू हरिश्चन्द्र सेन र बुष सेनले टुह राय, यलेकवा श्री राये, खेजीम राये, श्रीदेउ राये आदिका नाममा मोरङबाट संवत् १७१९ पुस सुदि ४ मा जारी स्याहामोहरलाई लिन सकिन्छ । यो पत्र पुरातत्व विभागबाट प्रकाशित र शंकरमान राजवंशीबाट सम्पादित “पुरातत्व पत्र सङ्ग्रह दोस्रो भाग” (२०१८:४) मा छापिएको छ ।
पृथ्वीनारायण शाहको समयसम्म आइपुग्दा उत्तरी पहाडी क्षेत्रबाट रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वको र दक्षिणी क्षेत्रबाट अभिमानसिंह बस्नेतको नेतृत्वको फौजले लिम्बुवानमा आक्रमण गर्यो । घमासान युद्ध भयो । १८३१ को साउनसम्म आइपुग्दा लिम्बू सुब्बाहरू दुई भागमा विभाजित भए । सुन राय, कुम राय तथा जङ्ग रायहरू गोरखाली पक्षमा मिले भने शुभवत्त राय, रैनसिंह राय, सुनुहाङ रायहरू गोरखालीहरूसँग मिलेनन्, बरु उनीहरू सिक्किमतिर पलायन भई गोरखालीहरूसँग आवश्यक युद्ध लड्ने तयारी गर्दै रहे । खास गरी तमोर नदी पूर्वका लिम्बू सुब्बाहरू सिक्किमसँग निकट देखिन्छन् भने पश्चिमतिरकाहरु सेनहरूसँग निकट देखिन्छन् । गोरखालीतिर मिल्नेहरू चाहिँ पहिले सेनसँगको राजनीतिक निकटता भएकाहरू देखिन्छन् । खास गरी नेपालको सीमा क्षेत्रमा लुटपाट गरिने गरिएको, लिम्बुहरूले ठुलै विद्रोह गरेको लालमोहर तथा रुक्काहरु पाइएको तथा पछिसम्म पनि लिम्बुवान क्षेत्रमा तत्कालै शान्ति कायम हुन नसकेको प्रमाणहरू पाइएकोले १८३१ साउनमा केही लिम्बू सुब्बाहरूले पृथ्वीनारायण शाहसँग गरेको सम्झौता अन्तिम थिएन भन्ने बुझ्नु पर्ने हुन्छ ।
लिम्बुको छापामार युद्धमा
लिम्बुहरूलाई सिक्किममा ‘चोङ’ भनिन्छ । यस्तै लेप्चाहरूलाई ‘रोङ’ भनिन्छ । सिक्किमको राजघराना, लिम्बू र लेप्चाहरू एकापसमा मिल्ने गरेका थिए । त्यसैले गोरखालीहरूसँग नमिल्ने लिम्बुहरूले सिक्किमबाट राजनीतिक शरण, सहयोग र सद्भाव प्राप्त गरिरहेका थिए ।
विक्रम सम्वत १८४३ मा आइपुग्दा तत्कालीन राजा रणबहादुर शाहले गोरखालीहरूसँग नमिल्ने अर्थात् सिक्किमतिर गएका लिम्बू सुब्बाहरूलाई आफ्नै थातथलोमा फर्कन आह्वान गर्दै एक लालमोहर जारी गरे । यो लालमोहरमा ती लिम्बुहरूले गाई काटी खाने गरेका मात्र नभई सीमा क्षेत्रमा बसेर लुटपाट समेत गर्ने गरेका उल्लेख छ । यहाँ लुटपाटलाई एक प्रकारको छापामार युद्धको सङ्केतका रूपमा अनुमान गर्न सकिन्छ । यस अर्थमा लिम्बुहरूले गोरखालीहरूलाई आफ्नो ठाउँमा शान्तिको सास फेर्न दिइरहेका थिएनन् भन्ने बुझ्न गाह्रो पर्दैन ।
साहित्यकार कविता राई “गाउँले”को सहयोगमा भारतको मिरिकनिवासी संस्कृति तथा साहित्यकर्मी विरही काइँलाबाट यो लेखकले लालमोहरको छायाप्रति पाएको हो ।
१८४३ साल जेठ सुदि २ सोमबार जारी गरिएको यो लालमोहरमा रणबहादुर शाहले लिम्बू सुब्बाहरू देवपति राय, थामावु राय, बहीनामसा राय, फेन्दुवा राय, शाभामुधा राय, थेबेसिंह राय, जसमुखा राय, गोथिम राय, सां राय, नामसाहाङ राय, इगुमसेदी राय, पोतवा राय, ओङ्देवा राय, फावोहांग्या राय, यंवा राय, षिंभिदिंग राय, पातलुवा राय (पालुङ्वा राय) लाई सम्बोधन गरेका छन् ।
लालमोहरको भाका यस्तो छ:
स्वस्ति श्री गिरिराज चक्रमुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमन महाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम.............
स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्री सां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्री पोतवा राय श्री ओङदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशिष्पूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमेष खायाको थियो सेवकको गर्नु निमेष सक्दो गर्नुछ गर्यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरूले पारि बसी लुटपाट गोवध खतछित् गर्याको सब माफगरिबक्यौं हाम्रा पिछा पर्यापछि गोवध नगर्नु पारी हुँदा गर्याको शत बापत तिमीहरूलाई कसैले दराउतम्बी गर्या अप्सरिया होला निमेषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरुको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जसको जस्तो जस्तो छ जाँची बुझी लाजिमा माफिक बनाइबक्सौँला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपाट गर्याकोमा हामीले माफ गरिबक्स्याकोछ जसले लुटपाट लियाको छ मागी लेउ । तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरू चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौँला । इति सम्वत १८४३ जेष्ठ सुदी २ रोज २ शुभम्...
माथि सम्बोधन गरिएका धेरै लिम्बू सुब्बाहरू तमोर नदीपूर्वका हुन् । उनीहरू सिक्किमसँग निकट थिए र गोरखाली आक्रमणपछि उनीहरू सिक्किम पलायन भए । उनीहरूले पारी अर्थात् सीमा क्षेत्रमा रहेर लुटपाट गरेका र गोवध समेत गरेका उल्लेख गर्दै लालमोहरमा ती सबै माफी गरिएको र अब उप्रान्त आफ्नो पुरानो थातथलोमा चाँडोभन्दा चाँडो आइ जग्गा जमिन उपभोग गर्न आह्वान गरिएको छ ।
एकातिर यसरी लिम्बू सुब्बाहरूलाई राजाबाट यस्तो आह्वान गरिँदै थियो भने अर्कातिर लिम्बुहरूले सिक्किमी र लेप्चाहरूसँग मिली आफ्नो थातथलो फिर्ता लिने अर्को युद्ध वा विद्रोहको तयारी पनि गर्दै रहे । १८४८ सम्म आइपुग्दा सिक्किमी र लेप्चाहरूको सहयोगमा लिम्बुहरूले हाल: सङ्खुवासभाको चैनपुर केही दिन कब्जा गरे । त्यो युद्ध वा विद्रोहमा उनीहरूले सिद्धिपुर र चैनपुर किल्ला कब्जा गरेको गोरखा पक्षका सैन्य र जनता भागेर अरुण पश्चिमतिर भाग्नु परेको थियो । तर पछि गोरखा पक्षका मानिस मरेमा मृतकको शव भने चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी शव गाड्न चाहिँ चैनपुरमै लग्ने भन्ने बहाना पारी त्यसका निम्ति भोटे र सिक्किमसँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै चैनपुर खलङ्गाको बनभित्र थुपार्ने चलाखी स्थानीय योद्धाहरूले गरेका थिए भनेर रमेश ढुङ्गेलले “प्राचीन नेपाल” को सङ्ख्या ११३ प्रकाशित आफ्नो लेख ‘पल्लो किरातको चैनपुर : एक महत्त्वपूर्ण ऐतिहासिक प्रदेश ’ (२०४६:४र१०) मा उल्लेख गरेका छन् । यसलाई एउटा चलाखी वा षडयन्त्रको रूपमा लिन सकिन्छ ।
यो युद्ध वा विद्रोहका बारेमा “प्राचीन नेपाल” (श्रावण २०३०:२) मा शाके १७१३ ‘किराँती मुलुकमा लिम्बुहरूले कुल गर्दा सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएको र वैरीको लस्कर ठुलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौँबाट फौज पठाइएको र सिद्धिपुरमा ठुलो लडाई हुँदा वैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खुँडो पखाली कद्रुहीमा आइ बसेको’ भन्ने उल्लेख भएबाट लिम्बुहरूले गोरखालीहरुविरुद्ध त्यो बेला विद्रोह गरेको स्पष्ट रूपमा बुझ्न सकिन्छ ।
यो विद्रोह दबाउन सफल हुँदा तत्कालीन राजा रणबहादुर शाह बडो उत्साहित भए । उनले यो युद्धमा पाँच सय वैरी अर्थात् सिक्किमी, लेप्चा र लिम्बुहरू मारिएको थाहा पाएपछि आफूहरूले हर्ष बढाई गरेको र त्यता अर्थात् जाजरकोटतिर पनि हर्ष बढाई गर्न जाजरकोट राजा गजेन्द्र शाहलाई रणबहादुर शाहले पत्र पठाए । यो पत्र योगी नरहरिनाथले सम्पादन गरेको “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह” (२०५५ : ६–७) मा पढ्न पाइन्छ ।
यो युद्ध वा विद्रोहलाई पुष्टि गर्ने एक रुक्काको छायाप्रति यो लेखकले पनि प्राप्त गरेको छ । इतिहास तथा साँस्कृतिमा चासो राख्ने साहित्यकार टंक वनेमबाट यो लेखकले उक्त रुक्काको छायाप्रति प्राप्त गरेको हो ।
विद्रोह वा युद्ध भएको चार वर्षपछि जारी रुक्काको भाका यस्तो छ :
स्वस्तिश्री मन्मंहाराजाधिराज कस्य रुक्का——————————————————
आगे. फागु. सिर्देउराईके. तेरो बाबु. बराज्यूका पालादेषिको किपटजिमिन. तेरा भाइ विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागी. ठडियाका. प्रजा. थामिबक्स्यौँ. भोट. मधेस गयाका. झिकी. बस्ती बसाई. भोग्या गर. इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम्———————————
www.kantipurdaily.com बाट साभार प्रकाशित : पुस ३, २०७५ १३:४०
No comments:
Post a Comment