Wednesday, February 8, 2017

काष्ठमण्डपमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य - सुदीप श्रेष्ठ


तस्बिरः नारायण महर्जन/सेतोपाटी

काष्ठमण्डप कसरी बन्यो? कहिले बन्यो?
संस्कृतिविद् यज्ञमान पति बज्राचार्यले सानैदेखि यसको कथा सुन्दै आएका थिए। उनको खलकमा पितापुर्खादेखि नै यो कथा प्रचलित थियो। एक किसिमले भन्दा काष्ठमण्डप निर्माण नै उनको पुर्खासँग जोडिएको थियो। आफ्ना पुर्खाले लेखेका यससम्बन्धी केही कागजात उनले संकलन पनि गरेका थिए। तिनै कागजात र कथा समेटेर उनले २०६० सालमा किताब लेखे– ‘लीलाबज्रः काष्ठमण्डप निर्माता’।
यो किताबले काष्ठमण्डप निर्माणबारे जुन कथा भन्छ, त्यसलाई पुष्टि गर्ने ऐतिहासिक अभिलेखहरू हामीसँग छैनन्। तर, यसले जुन समयमा काष्ठमण्डप बन्यो भन्छ, त्यो अहिले आएर पुरातात्विक अनुसन्धानबाटै पुष्टि भएको छ।
गत वर्ष वैशाख १२ को भुइँचालोपछि नेपाल, बेलायत लगायत देशका पुरातत्वविद्को टोलीले काष्ठमण्डपको जग उत्खनन् गरेको थियो। उनीहरूले ४० दिन लगाएर जगका विभिन्न भागबाट माटो, ढुंगा र अंगारका नमूना झिके। बेलायतको प्रयोगशालामा लगेर उमेर परीक्षण गरे।
यो पुरातात्विक अनुसन्धानले काष्ठमण्डप बनेको समय मात्र पुष्टि गरेको छैन, यसको 'आर्किटेक्चर' र पछिल्ला कैयन् ठूला भुइँचाला थेगेको यो सम्पदा यसपालि किन ढल्यो भन्ने नयाँ तथ्य पनि बाहिर ल्याएको छ। यो अनुसन्धानले काष्ठमण्डपमुनि थिचिएर बसेको २ हजार २ सय वर्ष पुरानो सभ्यताको प्रमाण पनि पहिलोपटक हाम्रा सामु ल्याइदिएको छ।
काष्ठमण्डप संरचना १२ औं शताब्दीमा बनेको इतिहासकारहरूको भनाइ थियो। ऐतिहासिक अभिलेखमा त्योभन्दा पुरानो तिथिमिति फेला परेको छैन। यज्ञमानको किताबले भने यो सम्पदा आठौं शताब्दीमा बनेको कथा भन्छ। पुरातत्व विभाग र बेलायतका डर्हाम तथा स्टर्लिङ विश्वविद्यालयको निष्कर्ष त्यसैसँग मिल्दोजुल्दो छ।
 यो भनेको आजभन्दा १ हजार ३ सय वर्ष पुरानो घटना हो।
इस्वी सम्बत् ७४१ आसपासको।
त्यतिबेला नेपाल खाल्डोमा लिच्छिवी राजा जयदेव (द्वितीय) को शासन थियो। यो क्षेत्र उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो। भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरु तथा शिष्य तिब्बत जान नेपाल खाल्डोको बाटो प्रयोग गर्थे। तिब्बतका लामा गुरु तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा अध्ययन गर्न जान्थे। नेपाल खाल्डो बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो। तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो।
त्यही समय यहाँ ‘लीलाबज्र’ नामका सिद्धगुरु थिए, जसको ख्याति तिब्बतदेखि भारतवर्षभरि फैलिएको थियो। नालन्दा विश्वविद्यालय र विक्रमशील महाविहारमा अध्यापन गर्ने यिनी बौद्धशिक्षा र तान्त्रिक विद्याका गुरु थिए।
एकदिन लीलाबज्र कुनै जात्रा हेरिरहेका थिए। उनका आँखा हुलमा सबैभन्दा अग्लो मानिसमा गयो। उनले ती मानिसलाई पहिले कहिल्यै देखेका थिएनन्। उनको असाधारण उचाइ र हाउभाउ देखेर लीलाबज्रलाई लाग्यो, ती साधारण मानिस होइनन्। उनले आफ्नो तन्त्रविद्याको सहाराले ती व्यक्तिलाई वशमा लिए।
जात्रा सकिएपछि भिड लाखापाखा लाग्यो। ती व्यक्ति भने चल्न–हल्न सकेनन्। उनी लीलाबज्रको तन्त्रविद्यामा बाँधिएका थिए।
लीलाबज्रले सोधे, ‘तिमीलाई यसअघि यहाँ कहिल्यै देखेको थिइनँ, तिमी को हौ?’
उनले जवाफ दिए, ‘म कल्पवृक्ष हुँ, रुखहरूको देवता।’
लीलाबज्रको अनुमान सही साबित भयो। उनी साँच्चिकै साधारण मानिस रहेनछन्।
आफ्नो परिचय दिएपछि कल्पवृक्षले सोधे, ‘तिमीले मलाई किन र कुन प्रयोजनका लागि यसरी बाँधेर राख्यौ?’
खासमा लीलाबज्रले कुनै प्रयोजनका लागि उनलाई बाँधेका थिएनन्। तर, जब कल्पवृक्ष नै आफ्नो वशमा परेको थाहा पाए, उनको मनमा एउटा इच्छा जागृत भयो। भने, ‘तिमी कल्पवृक्ष हौ भने मलाई एउटा रुख देऊ, म त्यही रुखको काठबाट यहाँ सत्तल निर्माण गर्न चाहन्छु, ताकि यो बाटो हुँदै आवतजावत गर्ने बटुवाहरूले आराम गर्ने स्थान पाऊन्।’
वशमा परेका कल्पवृक्षसँग लीलाबज्रको इच्छा पूरा नगरी धर थिएन। उनले एउटा अजंगको रुख लीलाबज्रलाई उपलब्ध गराए।
लीलाबज्रले त्यही रुखको काठ प्रयोग गरी काष्ठमण्डप निर्माण गरे, जसलाई ‘मरुसत्तः’ भनिन्छ। नेपाल भाषामा सत्तः भनेको पाटीपौवा हो। यो सत्तलले नेपाल खाल्डो हुँदै तिब्बत र भारत ओहोरदोहोर गर्ने बौद्धगुरु तथा व्यापारीहरूलाई आश्रय दियो। पछि जयस्थिति मल्लको पालामा यहाँ गोरखनाथ मन्दिर स्थापना गरिएको र उनका अनुयायी मानिने कपालीहरूको निम्ति बसोबासको व्यवस्था मिलाइएको ऐतिहासिक अभिलेख छ।
त्यतिबेला कल्पवृक्षले दिएको रुख यति विशाल थियो, काष्ठमण्डप निर्माणपछि पनि त्यसका काठ सकिएनन् रे। लीलाबज्रले बचेका काठबाट काष्ठमण्डपको ठिकअगाडि अर्को सत्तल बनाएछन्, जसलाई ‘सिँल्यं सत्तल’ भनियो। त्यो सत्तल अहिले पनि छँदैछ। ‘सिँल्यं’ भन्नाले मुख्य काम सकिएपछि बचेको काठ भन्ने बुझिन्छ। राणाकालमा मानन्धर खलकले त्यहाँ सिंहका मूर्ति स्थापना गराए। त्यही भएर यसलाई ‘सिंहसत्तल’ पनि भन्न थालियो।
लीलाबज्रले सत्तल निर्माणमा प्रयोग गर्न नमिल्ने रुखका जरा र आँख्ला भएका काठ आफ्नै बिहारमा लगेर राखेछन्। त्यसलाई आज पनि ‘सिखोंमू’ (रुखका जरा र जोर्नी जम्मा गरिएको) बहाः भनिन्छ। त्यसको अर्को नाम श्रीखण्ड तरुमूल महाविहार हो।
यज्ञमान पति बज्राचार्य त्यही महाविहारका गुरु हुन्। आफू लीलाबज्रकै ४१ वा ४२ औं पुस्ता भएको उनको भनाइ छ।
‘मैले आफ्नो पितापुर्खाबाट सुनेको र उहाँहरूले छाड्नुभएको टिपोटका आधारमा काष्ठमण्डप कथा लेखेको हुँ,’ बज्राचार्यले सेतोपाटीसँग भने, ‘आखिरमा पुरातात्विक अनुसन्धानले हाम्रै कथा पुष्टि गर्यो।’
काष्ठमण्डप कथा यतिमै सकिन्न।
लीलाबज्रको कामना पुर्याएपछि कल्पवृक्षले भनेछन्, ‘अब मलाई जान देऊ।’
लीलाबज्रले मानेनन्। आफूले बनाउन आँटेको सत्तलमा कल्पवृक्षको दैवीशक्तिको बास सदा रहिरहोस् भन्ने उनको मनसुबा थियो। चलाख लीलाबज्रले सर्त राखे, ‘म तिमीलाई त्यतिबेला मात्र मुक्त गर्छु, जब नुन र तेलको भाउ बराबर हुन्छ।’
कल्पवृक्ष सोझा थिए, राजी भइहाले।
‘देउताहरू मान्छेभन्दा सोझा हुँदा रहेछन्,’ यज्ञमानले हाँस्दै भने, ‘त्यसयता हरेक वर्ष माघे संक्रान्तिको दिन काष्ठमण्डपमा पूजा गरेर नुन र तेलको भाउ सोधनी हुन्छ। न कहिले भाउ बराबर भयो न त कल्पवृक्ष मुक्त भए। आज पनि उनको दैवीशक्ति काष्ठमण्डपमै छ भन्ने विश्वास गरिन्छ।’
जनश्रुतिमा आधारित काष्ठमण्डप किंवदन्तीमा उल्लिखित सबै विवरण पुरातात्विक अन्वेषणबाट पुष्टि हुँदैन। तर, यो १ हजार ३ सय वर्ष पुरानो सम्पदा हो भन्नेमा अब कुनै दुबिधा नरहेको पुरातत्वविद्हरू बताउँछन्।
‘किंवदन्तीहरूमा एउटा समय प्रचलित थियो, हामी अर्कै समयलाई आधार मान्थ्यौं,’ अन्वेषणमा संलग्न पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सेतोपाटीसँग भने, ‘वैज्ञानिक अनुसन्धानले किंवदन्तीमा चलिआएको समयलाई नै पुष्टि गरेको छ।’
यो त काष्ठमण्डप अन्वेषणबाट निस्केको एउटा तथ्य मात्र हो। यसबाहेक काठमाडौं खाल्डोको प्राचीन सभ्यता झल्काउने अरू थुप्रै तथ्य यो अनुसन्धानबाट उजागर भएको छ।
यसमा सबभन्दा महत्वपूर्ण छ, काठमाडौं खाल्डोमा सभ्यता विकास कहिले भयो?
गत वर्ष काष्ठमण्डप उत्खनन क्रममा पुरातत्वविद्हरूले जमिनको सतहभन्दा पाँच मिटर तलसम्म खनेका थिए। उनीहरूले त्यतिबेलासम्म जमिन खन्दै गए, जबसम्म प्राकृतिक अवस्थाकै माटो फेला परेन। मानवीय हस्तक्षेप नभएको त्यस्तो प्राकृतिक माटोको रङ नै बेग्लै हुन्छ। मानवीय गतिविधिको संकेत देखिने अन्तिम विन्दुसम्म पुगेपछि उनीहरूले त्यहाँको माटो प्रयोगशाला परीक्षण निम्ति लगे। जे नतिजा निस्क्यो, त्यो काठमाडौं सभ्यता विकासको शोधमा अहिलेसम्मकै नयाँ उपलब्धि थियो।
माटोको स्वरुप र त्यसमा रहेको बालुवाको कणको अवस्था परीक्षण गर्दा यहाँ कम्तीमा इसापूर्व दोस्रो शताब्दीमै मानव बस्ती बसिसकेको तथ्य फेला परेको छ। भक्तपुर दरबार क्षेत्र र हाँडीगाउँबाट लगेको माटोको नमूनाले पनि लगभग इसापूर्व दोस्रो शताब्दीतिरै सभ्यता विकास भइसकेको देखाउँछ। यो भनेको आजभन्दा २ हजार २ सय वर्ष पुरानो घटना हो।
‘इसापूर्व दोस्रो शताब्दीमै काठमाडौं खाल्डोमा सहरीकरण सुरु भइसकेको वैज्ञानिक प्रमाण फेला परेको छ,’ कुँवरले भने, ‘काठमाडौं सभ्यताको पुरातात्विक अनुसन्धानमा यो अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि हो।’
हुन त तीन हजार वर्षभन्दा पुरानो इतिहास मानिएको काठमाडौं सभ्यतामा यो तथ्यांकलाई ‘आश्चर्यजनक खोज’ नमान्न सकिन्छ। लुम्बिनीमा आजभन्दा २५ सय वर्षअघि इसापूर्व छैठौं शताब्दीमै सिद्धार्थ गौतमको जन्म भइसकेको थियो। लुम्बिनीमा शाक्यहरूको सम्पन्न गणराज्य विकास भएका बेला यता काठमाडौं खाल्डोमा को राजा थिए भन्ने प्रामाणिक इतिहास छैन। तर, गोपालवंशी हुँदै महिषपाल र किराँतहरूको शासन चलेको वंशावलीमा पाइन्छ।
‘हामीसँग लिच्छिवीकालपछिको मात्र प्रामाणिक इतिहास छ। त्योभन्दा अगाडिको इतिहास भनेको तत्कालीन शासकहरूको वंशावली मात्र हो,’ इतिहासकार त्रिरत्न मानन्धरले भने।
काठमाडौं खाल्डोमा सभ्यता विकासको इतिहास इसापूर्वसम्मै तन्किएको भए पनि वैज्ञानिक प्रमाणले त्यसलाई अझ बलियो बनाउने उनको भनाइ छ।
काष्ठमण्डप मात्र होइन, भुइँचालो बेला भत्किएका माजुदेगः, त्रैलोक्यमोहन, जगन्नाथ, गोपीनाथ, जैसीदेवल लगायत सम्पदाको उत्खननले पनि पहिले सोचिएभन्दा पुरानो ऐतिहासिक पृष्ठभूमितर्फ संकेत गरेको पुरातत्व विभागले जनाएको छ। विभागले विभिन्न दाताको सहयोगमा यस वर्ष यी सबै सम्पदाको फेरि अन्वेषण गरेको थियो। गत वर्ष र यसपालि दोस्रो अन्वेषणको नेतृत्व पनि पुरातत्व विभागका प्रवक्ता कुँवरसहित डर्हाम विश्वविद्यालय, बेलायतका प्राध्यापक रोबिन कोनिङघाम र पुरातत्व विभागका पूर्व महानिर्देशक कोशप्रसाद आचार्यले संयुक्त रूपमा गरेका थिए।
‘यी सम्पदा जुन ठाउँमा बनेका छन्, त्यहाँ धेरै पहिलेदेखि नै मानवीय गतिविधि हुँदै आएको देखिन्छ,’ पुरातत्व विभाग, डर्हाम विश्वविद्यालय र स्टर्लिङ विश्वविद्यालयले दोस्रो चरणको अन्वेषणपछि यही पुस ५ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी सम्पदाको इतिहास पहिले सोचेभन्दा बढी जटिल छ।’
अन्वेषण क्रममा फेला परेको अर्को महत्वपूर्ण तथ्य काष्ठमण्डपको संरचनासँग सम्बन्धित छ।
पुरातत्वविद्हरूले पहिलोपटक काष्ठमण्डपको जग उदांगो पारेका छन्। काष्ठमण्डप बनेदेखि यसको जग अहिलेसम्म कुनै पुस्ताले देखेका थिएनन्। भोलि यो सम्पदा पुनर्निर्माणपछि फेरि कसैले देख्न पनि पाउने छैनन्।
यसको जगमा नौखण्डको मण्डप छ। नेवार परम्पराअनुसार तिहारमा म्हः पूजा मनाउँदा जस्तो मण्डप बनाइन्छ, यसको आकार लगभग उस्तै छ। ‘काष्ठमण्डपको नामै यही मण्डपका आधारमा राखिएको हो,’ यज्ञमानले भने, ‘यो संरचना स्थापना भएयता नौवटै खण्डको मण्डप देख्न पाउने हामी पहिलो पुस्ता हौं।’
जग उत्खननबाटै पुरातत्वविद्हरूले काष्ठमण्डप ढल्नुको गुत्थी पनि सुल्झाएका छन्। नौवटा मण्डपको बीचमा चारवटा मूलखम्बा अडाउन चारसुर्के ढुंगेजग अर्थात् ‘काठी’ बनाइएको छ। नेपाल भाषामा यसलाई ‘इल्होँ’ भनिन्छ।
गत वर्ष उत्खनन गर्दा यी चारमध्ये उत्तरपूर्वी ढुंगेजग फेला परेको थिएन। यसपालि माटो पन्छाउँदै जाँदा हराएको ढुंगा फेला पर्यो। काष्ठमण्डपको संरचना कसरी बनेको थियो भने, प्रत्येक मूलखम्बाको तल्लो चुच्चोलाई त्यो ढुंगेजगको प्वालभित्र छिराइएको हुन्थ्यो। यसले खम्बालाई हल्लन दिँदैनथ्यो। कुनै समय मर्मतसम्भार गर्दा उत्तरपूर्वी खम्बाको तल्लो चुच्चो भाँचिएछ। यसले खम्बा र ढुंगा आपसमा जोडिएन। मर्मतसम्भारमा संलग्न प्राविधिकहरूले यसको ख्याल गरेनन्। उनीहरूले भाँचिएको काठ फेर्नुको साटो त्यसैको वरिपरि तेलीय इँटा राखेर छोपछाप पारिदिए।
‘मर्मतसम्भारमा भएको त्रुटिले चारवटा मूलखम्बामध्ये एउटा कमजोर अवस्थामा रहेको पाइयो,’ कुँवरले भने, ‘यसबाहेक जगमा अरू कुनै किसिमको समस्या देखिएन। त्यो त्रुटि नहुँदो हो त काष्ठमण्डपले वैशाख १२ को भुइँचालो थेग्न सक्थ्यो कि!’
काष्ठमण्डप ढल्नुको कारण यही एउटा मात्र नहुन पनि सक्छ।
कुँवरले अझ प्रस्ट पार्दै भने, ‘मर्मतसम्भारकै क्रममा माथिल्ला संरचना कसरी बनाइएका थिए भन्ने खुलिसकेको छैन। माथिल्लो तहमा भएको त्रुटि, काठका लकहरू बिग्रेर, काठ कुहिएर, मक्किएर पनि ढलेको हुनसक्छ।’
उनका अनुसार ती चारवटा खम्बा अडाउने प्रत्येक ढुंगेजगमा सुन र तामाका स–साना पाता फेला परेका छन्। सुनको पाता काष्ठमण्डप बनाउने बेलामै पूजा गरेर चढाइएको हुनसक्छ। तामाको पाता भने भुइँको चिसोपना काठमा नजाओस् भनेर सुरक्षाका लागि राखिएको कुँवरले बताए। यतिखेर तारबारले घेरिएको काष्ठमण्डप छिरेर ती ढुंगा हेर्ने हो भने तामाका कण प्रस्टै देखिन्छन्।
पुरातात्विक अन्वेषणबाट खुलेका यस्ता तथ्यले काष्ठमण्डप क्षेत्रका बासिन्दाको छाति गर्वले फुलेको छ। खासगरी यो आठौं शताब्दीमै बनेको पुष्टि हुनुले ‘काष्ठमण्डप किंवदन्ती सही ठहरिएको’ भन्दै उनीहरू सन्तोषी सुनिन्छन्। पहिलोपटक नौवटै मण्डप देख्न पाउनुलाई त आफ्नो ‘भाग्य’ नै ठान्छन्।
‘तेह्र सय वर्षअघि बनेको मण्डप हामीले भाग्यले हेर्न पायौं। यसले काठमाडौंको इतिहासलाई अझ ओजिलो बनाएको छ,’ काष्ठमण्डप पुनर्निर्माणका अभियन्ता आलोक तुलाधरले भने।
इतिहासको यही ओज सुरक्षित र संग्रहित रूपमा भावी पुस्तालाई समर्पण गर्ने उद्देश्य लिँदै यहाँका बासिन्दाले गत सोमबार काष्ठमण्डपमा बज्रयान विधिअनुसार ‘सप्तविधानोत्तर’ (सत्व) पूजा गरे। बज्रयान परम्परामा गरिने सात चरणको पूजालाई सप्तविधानोत्तर पूजा भनिन्छ। यो अदक्षणाबाट सुरु भएर अनुमोदनामा टुंगिन्छ। कुनै कार्य सुरु गर्दा राम्ररी सम्पन्न गर्ने क्षमता हासिल होस् भनी कामना गर्ने पूजालाई अदक्षणा भनिन्छ। अनुमोदना भनेको सबै कार्य सम्पन्न गर्नेहरूलाई सम्मान गर्ने पूजा हो।
यो एउटा धार्मिक विधि त हो नै, सँगसँगै काष्ठमण्डप पुनर्निर्माण ‘हामी आफैं गर्छौं’ भन्ने स्थानीयको संकल्प पनि हो।
‘हामीले सत्वपूजा गरेर पुनर्निर्माणको दायित्व बोकेका छौं र यसलाई जनस्तरबाटै पूरा गर्छौं भन्ने संकल्प लिएका छौं,’ काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भने।
भुइँचालो गएको डेढ वर्ष बितिसक्दा पनि सरकारले सम्पदा पुनर्निर्माणमा चासो नदेखाएकाले स्थानीय आफैं अघि सर्नुपरेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिकाले टेन्डर गरेर निजी ठेकेदारलाई पुनर्निर्माणको जिम्मा सुम्पन खोजेको स्थानीयलाई चित्त बुझेको छैन। यसले सम्पदाको मौलिकपना र गुणस्तरमा सम्झौता हुनसक्ने उनीहरू शंका गर्छन्। नगरपालिकाले यो कामका लागि १६–१७ करोड रुपैयाँको लगत निकालेको छ। जति लागे पनि त्यो रकम ठेक्का, उपठेक्का हुँदै दलालहरूको हातमा नजाओस् भन्नेमा स्थानीय जागरुक छन्।
काष्ठमण्डपसँग जोडिएको विश्वसम्पदा सूचीको महत्ताले पनि स्थानीयलाई गम्भीर बनाएको छ। अलिकति तलमाथि भए सम्पदा सूचीबाटै बाहिरिन सक्ने उनीहरूलाई चिन्ता छ।
‘नाफामूलक उद्देश्य राख्ने समूहबाट सम्पदा पुनर्निर्माण गरिनुहुन्न। पुरातत्व विभागले दिएको ढाँचाअनुसार हामी आफैं जनस्तरबाटै पैसा उठाएर, स्थानीय कालिगढहरू प्रयोग गरेर पुनर्निर्माण सुरु गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो सत्वपूजा त्यसैको संकल्प र सुरुआत हो।’
त्यस दिन सत्वपूजामा मूलपुरोहित उनै यज्ञमान पति बज्राचार्य नै थिए, जसले लेखेको काष्ठमण्डप कथाले अहिले वैज्ञानिक आधार प्राप्त गरेको छ।
पूजामा काठमाडौंसहित ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न विहारबाट १ सय २० जना गुरुमा सामेल थिए। गुर्जुहरूको संख्या ६० थियो। घरि उठेर, घरि बसेर हातका औंलालाई अनेक मुद्रामा चारै दिशातिर नचाउँदै गरिएको सत्वपूजाअघि काष्ठमण्डप पुनर्निर्माण अभियानका श्रेष्ठले भनेका थिए, ‘आठौं शताब्दीको पुर्खाले बनाएको सम्पदालाई आगामी पुस्ताको निम्ति सुम्पने अभिभारा हाम्रो काँधमा छ।’
त्यही समारोहमा कवि दुर्गालाल श्रेष्ठले काष्ठमण्डपको महिमा गाउँदै कविता पनि बाचन गरे।
‘रोइरहेछु म यसरी, मानौं
रोइरहेको नै हैन!
जीवनभरिमै आजसरी म
बाँचिरहेको नै छैन!

सरस्वतीका वरदहस्त हे
नेपालीका पुर्खाजन
म काष्ठमण्डप तिमीहरूकै
एउटा सुन्दर सृष्टिसुमन!

नेपालैको माझ म निर्मित
यौटै रुखको हुँ सत्तल
सत्तल तर यस्तो सत्तल हुँ
नेपालैको हृदयस्थल!

नेपाल म हुँ, ए नेपाली!
चम्क चम्क ए मेरो शान
यो भैंचालो के हो बाबा
जागोस् केवल तिम्रो प्राण!

मात्र तिमी उठ हात उठाई
उठ्नेछन् जनसागर–छाल
ढुंगा–मूढै पनि उठ्नेछन्
झललल बाल्दै क्रान्ति–मसाल!’

http://setopati.com बाट साभार














No comments:

Post a Comment